हेटौँडा : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ आज बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुने पक्का भएको छ ।
मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले दिएको समयसीमा सोमबार दिउँसो २ बजे सकिएसँगै बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
नेता बानियाँले सोमबार दिउँसो प्रदेश प्रमुखसमक्ष बहुमतको आधार प्रस्तुत गर्दै मुख्यमन्त्री बन्ने औपचारिक दाबी पेस गरेका थिए । दिउँसो २ बजेसम्म अन्य कसैबाट दाबी नपरेपछि संविधानको धारा १६८ (२) अनुसार बानियाँको नियुक्ति प्रक्रिया अघि बढाइएको हो । उनलाई आजै शपथ गराउने तयारी गरिएको छ ।
यसअघि नेपाली कांग्रेस प्रदेश संसदीय दलको नेताका लागि भएको आन्तरिक प्रतिस्पर्धामा इन्द्र बानियाँसँग पराजित भएका बहादुरसिंह लामाले पदबाट राजीनामा दिएपछि नयाँ नेतृत्व चयन र मुख्यमन्त्री नियुक्तिको मार्ग खुलेको हो ।
लामाले राजीनामा दिए लगत्तै प्रदेश प्रमुख कार्यालयले नयाँ मुख्यमन्त्रीको दाबी पेस गर्नका लागि आह्वान गरेको थियो ।
प्रदेशमा नयाँ गठबन्धनको नेतृत्व गर्दै काँग्रेसले सत्ता सम्हाल्न लागेको हो । बानियाँलाई नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र जनमत पार्टीको समर्थन रहेको बताइएको छ ।
बानियाँको नेतृत्वमा गठन हुने सरकारलाई पाँच दलीय गठबन्धनले सशक्त साथ दिने तयारी गरेको स्रोतले जनाएको छ ।
मुख्यमन्त्री बन्ने सुनिश्चित भएका इन्द्र बानियाँ लामो समयदेखि काँग्रेसको राजनीति सक्रिय नेता हुन् । अब उनले बागमती प्रदेशको सरकारको नेतृत्व गर्दै राजनीतिक स्थायित्व र विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।
आजै साँझ शपथ लिएर कार्यभार सम्हाल्ने उनको तयारी रहेको बताइएको छ ।
प्रतिक्रिया