डा. चण्डिका भट्ट
काठमाडौं । नेपालमा शैक्षिक क्षेत्रको वर्तमान अवस्थाले यतिबेला निराशा र अनिश्चितताको घना बादल ओढेको छ । तर त्यही क्षितिजमा एउटा नयाँ सम्भावनाको उज्यालो रेखा पनि देखापर्छ।
लगातारको प्रतिभा पलायन, आन्तरिक असन्तुलन र संस्थागत विच्छेदनका बाबजुद, नेपालसँग एक अद्वितीय अवसर उपस्थित भएको छ । शिक्षालाई राष्ट्रनिर्माणको मूल आधार बनाउने बदलिँदो अन्तर्राष्ट्रिय परिदृश्य, युवाको चेतनास्तर, र विश्व बजारको मागका बीच, अब समय आएको छ कि हामी ‘पुनर्जागरण’लाई केवल इतिहासको एउटा अवधारणा नभई, नेपालका लागि आजको कार्ययोजना बनाउन सक्छौं ।
प्रसंग १ः तीन साता नेपालको बसाइले देखाएको यथार्थ
सन् २०२५ को जून महिनामा नेपालमा सिप तथा ज्ञान विनिमय सम्बन्धी कार्यक्रममा सहभागी हुन पुगेको थिएँ । छोटो नेपाल बसाइँमा साथीभाई तथा आफन्त हरुसँगको भेटघाटले मेरो मनमा गहिरो तरङ्ग उत्पन्न ग¥यो । जसले नेपालको वर्तमान सामाजिक मनोविज्ञान, शैक्षिक अवस्थिति र सार्वजनिक भरोसाको परिदृश्य एकसाथ उजागर ग¥यो।
मैले धेरै ठाउँमा निराशा, परस्पर अविश्वास, संस्थागत असहयोग र भावनात्मक असन्तुलनको अनुभूति गरेँ । मानिसहरूमा आशाभन्दा बढी निराशा र अन्योल देखिन्थ्यो । तर त्यसै निराशाबीच केही असल चेतनाका केहि भरोसा लाग्दा झिल्का पनि देखा परेका देखिन्थे । उदाहरणका लागि, गोरखाका भूतपूर्व शिक्षक, प्रधानाध्यापकहरूसँगको संवादले यो विश्वास पुनः स्थापित ग¥यो, हामी केही गर्न सक्छौँ, परिवर्तन सम्भव छ । यही आत्मविश्वासले मेरो मनमा एउटा सम्भावनाको बीउ रोप्यो-के नेपाललाई अध्ययन, अनुसन्धान र ज्ञान सिर्जनाको केन्द्र बनाउने सपना केवल आकांक्षा मात्रै हो, या अभ्यासमा उतार्न सकिने इच्छाशक्ति, योजना र प्रयत्नले साकार पार्न सकिने यथार्थ सम्भावना पनि हो ।
प्रसंग २ः बस यात्रा र विचारको चक्रवात
२०२५ सालको जुलाई ९ गते बिहान अनलाइन खबरमा प्रकाशीत नारायण प्रसाद भण्डारीको एउटा लेखमा मेरो आँखा प¥यो । जसमा उच्च शिक्षाको ‘ब्रान्डिङ’ ले मलाई गहिरो रूपमा सोच्न बाध्य पा¥यो । नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्यको रूपमा स्थापित गर्ने तर्क, तथ्य र दृष्टिकोणले भरिएको त्यो लेख केवल आशावाद होइन, योजना र उद्देश्यको एउटा प्रारूप थियो जुन मैले प्रसंग १ मा उठान गरेको प्रसँग संग सामिप्य थियो ।
प्रसंग ३ः शिक्षाको सीमाना, बाहिरको आकर्षण कि भित्रको अभाव ?
अहिले म स्वयं बेलायतको एक विश्वविद्यालयमा कार्यरत छु । जहाँ दर्जनौं नेपाली विद्यार्थीहरू अध्ययनरत छन् । धेरैजसोले केवल कक्षा १२ मात्र पुरा गरेर त्यो यात्रा थालेका छन् । मैले प्राध्यापन गर्ने बाहेक बेलायतका अन्य महाविद्यालय लगायत अमेरिका,अष्ट्रेलिया, क्यानाडा आदि मुलुकहरुमा त्यतिनै संख्यामा नेपृली विद्यार्थीहरु अध्ययनरत छन् । त्यहाँबाट नेपाली शिक्षा प्रणालीलाई हेर्दा यथार्थ केही फरक देखिन्छ । ती विद्यार्थीहरू मध्ये धेरैजसो मानसिक, शैक्षिक, आर्थिक र सांस्कृतिक रूपमा आवश्यक तयारी बिना पनि आएका छन् ।
यसरि आएका विद्यार्थीहरुको संघर्ष उनीहरूको कमजोरीभन्दा पनि हाम्रो शैक्षिक लगायतका समग्र प्रणालीको प्रतिबिम्ब हो भन्नु अत्युक्ती नहोला । जबसम्म नेपालमै गुणस्तरीय, सुलभ र सान्दर्भिक शिक्षाको वातावरण निर्माण हुँदैन, तबसम्म हाम्रो शिक्षाको भविष्य बाह्य आश्रितता र अपूर्ण यात्रामै सीमित हुनेछ । यसले के सङ्केत गर्दछ भने अब हामीकहाँ केवल सम्भावना मात्र होइन, विकल्प निर्माणको अनिवार्यता पनि जबर्जस्त उपस्थित भएको छ र अझैँ प्रवल हुनेछ ।
प्रसंग ४ः उपप्राध्यापक परीक्षामा न्यून सफलता, किन घट्यो प्रतिस्पर्धाको स्तर ?
असार १३, २०८२ मा त्रिभुवन विश्वविद्यालय सेवा आयोगले प्रकाशित गरेको उपप्राध्यापक पदको लिखित परीक्षाको नतिजाले नेपाली उच्च शिक्षा प्रणालीको गहिरो संकट फेरि एकपटक सतहमा ल्याएको छ । विभिन्न संकायमा विज्ञापन गरिएका सयौँ पदमध्ये एकतिहाइभन्दा कम उम्मेदवारले मात्र लिखित परीक्षा पास गर्न सकेका छन् । कतिपय विषयहरूमा त एक जनासमेत सफल हुन नसक्नुले केवल परीक्षार्थीको कमजोरी होइन, समग्र शैक्षिक प्रणालीको गुणस्तर, नीति, संरचना र कार्यान्वयनप्रतिको गम्भीर प्रश्न उठाएको छ ।
यो समस्या कुनै एकपटकको नतिजासँग मात्र सम्बन्धित छैन । उच्च शिक्षाबाट उत्पादित जनशक्ति नै भोलिका शिक्षक, प्रशासक, नीति निर्माता र विभिन्न सार्वजनिक सेवा क्षेत्रका कर्णधार हुनेछन् । जब शैक्षिक उत्पादनको आधारभूमि नै कमजोर छ भने गुणस्तरीय जनशक्ति उत्पादनको अपेक्षा गर्नु आफैंमा विडम्बनापूर्ण हुन्छ ।
अब आवश्यक छ, शिक्षा नीतिमा पुनर्विचार, विश्वविद्यालयहरूको शैक्षिक तथा प्रशासनिक सुधार, र शिक्षण–पाठ्यक्रमको समसामयिक पुनर्संरचना । शैक्षिक पुनर्जागरण अब विकल्प होइन, अनिवार्य शर्त भइसकेको छ । उच्च शिक्षालाई केवल उपाधि वितरणको कारखाना बनाउने सोच त्यागी त्यसलाई समृद्ध, सिर्जनशील र उत्तरदायी बनाउने गम्भीर पहलको घडी यही हो ।
प्रसंग ५ः परीक्षा पछिको विमर्शस् सुधारको खोजी वा बहसको सिलसिला ?
परीक्षा पछिको विमर्श खासगरी पहिलेको एसएलसी-अहिलेको एसईई-या विश्वविद्यालयका नतिजा प्रकाशित भएपछि, टिप्पणीहरूको बाढी आउँछ । कसैले शिक्षा नीति र संरचनालाई दोष दिन्छन्, कसैले सरकार, सम्बन्धित मन्त्रालय वा शिक्षकहरूको कमजोर पठन (पाठन शैलीलाई। केहीले विद्यार्थीहरूको अध्ययनशीलता अभावतर्फ औंला ठड्याउँछन्, त केहीले अभिभावकहरूको भूमिकालाई प्रश्न गर्छन् । यी सबै दोषका भागिदार पक्कै हुन्। तर, हामि दोष अरुलाई थोपर्नेमा पो बडी माहिर भयौ कि ?
सुधारको नाममा अनेकौं अध्ययनहरू भए, कार्यदल बने, सिफारिसहरू तयार भए । यो पंक्तिकार पनि आधा दर्जनभन्दा बढी अध्ययन टोलीमा संलग्न रहिसकेको छ । प्रतिवेदनहरू लेखिए, बुझाइए—तर दुःखको कुरा, ती बहुमूल्य सुझावहरू कार्यान्वयनको पर्खाइमै थन्किए। नतिजा के भयोरु हामी फेरि पनि उही पुरानै ढर्रामा अघि बढिरहेका छौं । अनि सुधार कहाँबाट र कसरी सम्भव हुन्छ ?
प्रसंग ६ः बदलिँदो विश्व, बदलिँदो प्राथमिकता
आज विश्वभर आप्रवासन नीतिहरू कडा हुँदै गएका छन् । हाल विश्वका प्रमुख गन्तव्यहरू-जस्तै बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानाडा आदिका—आप्रवासन नीति कडा हुँदै गइरहेका छन् । नयाँ भिसा नियम, काम गर्ने अवसरमा कटौती, आर्थिक दबाब र अन्तर्राष्ट्रिय विद्यार्थीलाई हेर्ने दृष्टिकोण पनि शंकास्पद बन्दै जानु आदिले गर्दा अब ती मुलुकहरूमा अध्ययन गर्नु सजिलो छैन । यो केवल विदेश जाने सपना बोकेका युवाका लागि झट्का होइन, नेपालको लागि अवसरको झिल्को हो । फलस्वरूप, त्यो दिन टाढा छैन जब नेपाली विद्यार्थीहरू बाध्य भएर नेपालमै गुणस्तरीय उच्च शिक्षा खोज्नेछन् । यो अवस्था नेपालका लागि चुनौती मात्र होइन, विशाल अवसर पनि हो—नयाँ शैक्षिक पुनर्जागरणको । अनि हामीकहाँ प्रश्न हुनेछ-के नेपाल तयार छ ?
प्रसंग ७ः नेपालले पुनर्जागरणकालको विश्व उदाहरणबाट के सिक्ने ?
ठूलो संख्यामा नेपाली विद्यार्थीहरू विदेशीन थालेसँगै हामीले बौद्धिक सम्पत्ति र जनशक्ति गुमाउँदै आएका छौं । तथापि, पछिल्लो परिस्थितिले नेपालभित्रै उच्च शिक्षाको स्तर उकास्ने, गुणस्तरीय, नवप्रवर्तनमुखी र अन्तर्राष्ट्रियकरणतर्फ अग्रसर गराउने अद्वितीय अवसर ल्याएको छ । यो संकट होइन, सम्भावनाको मोड हो—ठिक त्यस्तै जस्तो युरोपमा मध्ययुगीन अन्धकार पछिको पुनर्जागरणकालले ल्याएको परिवर्तन थियो । जसले ज्ञान, विज्ञान, कला र मानवीय चेतनाको नयाँ युगको सुरुवात ग¥यो ।
सन् १९५० को दशकमा जापानले युद्धपछिको पुनर्निर्माणलाई शिक्षा–केन्द्रित बनाएर आर्थिक चमत्कार सम्भव बनायो। । त्यस्तै, दक्षिण कोरियाले पनि उच्च शिक्षालाई रणनीतिक प्राथमिकतामा राखेर सूचना प्रविधिमा विश्व नेतृत्व गर्ने देश बन्न सफल भयो। आज नेपालले पनि शिक्षालाई राष्ट्रिय पुनर्जागरणको मूल आधार बनाउने सही समय यही हो जस्तो लाग्दछ।
प्रसंग ८ः हाम्रा बैभव र पुनर्जागरणको जग बसाल्ने अवसर
नेपाल सानो भए पनि यसका ऐतिहासिक, सांस्कृतिक, भाषिक, मौलिक संस्कार र जीवनशैली, भौगोलिक र जैविक विविधता विश्वका लागि अध्ययनको अनुपम खानी हो । हाम्रा हिमाली, पहाडी र तराई भूभाग, आदिवासी जनजातिका मौलिक जीवनशैली, मौखिक परम्परा, जडीबुटी ज्ञान, योग (संस्कृति, धार्मिक सहिष्णुता—यी सबै पक्षको प्राप्तिले नेपाललाई अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूले अध्ययन र अनुसन्धानको उत्कृष्ट गन्तव्य बनाउन सक्छन् । विगतमा विश्वका थुप्रै अनुसन्धानकर्ताहरू यहाँ आइ आफ्नो जीवन नै समर्पण गरेर अद्भुत ज्ञान उत्पादन गरेका र विश्वलाई सम्प्रेषण गरेका थुप्रै उदाहरण छन् ।
हिजोका दिनमा प्रसिद्ध भाषाशास्त्री न्भयचनभ न्चष्भचकयल ले नेपाल र भारतको सीमावर्ती क्षेत्रका भाषाहरूको अध्ययन गर्दै भाषिक विविधताको बेजोड उदाहरण प्रस्तुत गरेका थिए। यस्तै, त्यलथ ज्बनभल लगायतका भूगोलविद्हरूले नेपालका भौगोलिक र जैविक पक्षमा व्यापक अनुसन्धान गरेका थिए । आफुले अध्ययन मात्र नभई नेपाललाई बिश्व सामु चिनाउन समेत मद्दत गरे । यी इतिहासका अध्यायहरू आज फेरि दोहोरिन सक्छन् । तर त्यसका लागि हामीले शिक्षालाई मूल मञ्च बनाउनुपर्छ।
आज विश्वका प्रतिष्ठित विश्वविद्यालयहरू -जस्तै हावर्ड, अक्सफोर्ड, हाइडलबर्ग, टोरोन्टो, क्योटो र अष्ट्रेलियन नेशनल युनिभर्सिटी-मा संस्कृत भाषा र साहित्य गहन अध्ययन, अनुसन्धान र शिक्षणको विषय बनेको छ । संस्कृतलाई मानव सभ्यताको मौलिक बौद्धिक सम्पदा मान्दै, पश्चिमी विश्वले यसलाई दर्शन, भाषाविज्ञान, गणित, चिकित्सा र धर्मशास्त्र जस्ता विविध अनुशासनको आधारभूत स्रोतको रूपमा पढिरहेको छ ।
तर विडम्बना, त्यही संस्कृत भाषा नेपालमा आफ्नो जन्मभूमिमा दुर्दिन भोगिरहेको छ । माओवादी जनयुद्धका बेलामा संस्कृत शिक्षालयहरूमा राजाको भाषा वा सामन्तवादको प्रतीक भन्दै आक्रमण गरियो, शिक्षालयहरू जलाइए, शिक्षकरपण्डितहरू विस्थापित भए, हत्या गरिए । एउटा यस्तो भाषा जसले भारत, चीन, युरोपदेखि अमेरिका र अष्ट्रेलियासम्म ज्ञानको ढोका खोल्दैछ, त्यो आफ्नै देशमा तिरस्कृत, तहस(नहस र उपेक्षित हुनु नेपाली समाजको एक गहिरो सांस्कृतिक विरोधाभास र विचलन हो ।
प्रसंग ९ः फलाम तातिँदा नै पिट्नुपर्छ, अवसर चुकाउनु भनेको सम्भावनाको ढोका आफैँ बन्द गर्नु हो
नेपालमा आज पनि यस्ता धेरै सम्भावना र स्रोतहरू छन्, जुन सही समय, सोच र दृष्टिकोणले प्रयोग गर्न सकियो भने, यिनै स्रोतहरूले हामीलाई आत्मनिर्भरता र समृद्धिको दिशातर्फ डोहोर्याउन सक्छ ।
नेपालको अर्को विशेषता भनेको तुलनात्मक रूपमा सस्तो जीवनयापन खर्च हो । सहरबाहिरका क्षेत्रमा छात्रावास, खानपान र अन्य दैनिक खर्चहरू धेरै कम छन्, जुन विकासशील राष्ट्रहरूका विद्यार्थीहरूका लागि अत्यन्तै आकर्षक पक्ष हो। यसमा जैविक खाना, स्थानीय कृषि उत्पादन र समाजसँगको अन्तक्र्रिया पनि थपिँदा अध्ययनको अनुभव अझ समृद्ध हुन्छ ।
नेपालमा योग, ध्यान, बौद्ध तथा वैदिक शिक्षाको परम्परा समृद्ध छ। आत्म-अनुशासन, मानसिक सन्तुलन र आध्यात्मिक पृष्ठभूमिको खोजीमा रहने विद्यार्थीहरूका लागि नेपाल एक जीवित प्रयोगशाला बन्न सक्छ। यहाँको प्रकृति, पर्वत, नदी र जंगलहरू साहसिक पर्यटनको लागि मात्र होइन, गहिरो अध्ययन र आत्म (अन्वेषणको माध्यम पनि हुन् ।
सिधा रुपमा हेर्दा यिनीहरू आकर्षण मात्र नभई आन्तरिक अर्थतन्त्र, रोजगारी, वैकल्पिक अवसरहरूसँग पनि गहिरो रूपमा जोडिएका छन् । अहिले अधिकांश उत्पादनयोग्य भूभागहरू पनि उत्पादनविहीन र खण्डहर बनेका छन् । गाउँहरू रित्तिँदै गएका छन् । यदि पुनर्जागरण निम्तियो भने-ती सबै उर्बर र भरिभराउ भएर फर्कन सक्छन् । हामीकहाँ सम्भावनाहरूको अभाव छैन, अभाव छ त केवल सही दृष्टिकोण, दूरदृष्टि र समन्वयको । अब पनि ढिला नगरौँ-सम्भावनाको यो ढोका खुला छ, यसलाई चलायमान बनाउनु अबको आवश्यकता हो ।
प्रसंग १०ः राजनीतिक नेतृत्व र सरकारको प्रतिज्ञाः दोषारोपण होइन, प्रतिबद्धता आवश्यक
नेपालको शिक्षाको वर्तमान अवस्थामा सुधार नहुनुको मुख्य कारणमध्ये एक हो-राजनीतिक नेतृत्वको दिगोपन र दीर्घदृष्टिको अभाव । पटक–पटक सरकार, मन्त्री वा सम्बन्धित निकायहरूले शिक्षालाई प्राथमिकतामा राख्ने घोषणा गरे पनि व्यवहारमा ती घोषणाहरू चुनावी भाषण र क्षणिक प्रचारभन्दा अगाडि बढ्न सकेका छैनन् ।
अब समय आएको छ। राजनीतिज्ञ र दलहरूले दोषारोपणको परिपाटी त्यागेर सार्वजनिक रूपमा शिक्षाप्रति आफ्नो दीर्घकालीन प्रतिबद्धता घोषणा गरुन् । शिक्षा प्रणालीलाई स्थायित्व, पारदर्शिता र नवप्रवर्तन दिने स्पष्ट योजना प्रस्तुत गरुन् । ‘हामीले गरिनौं’ भन्ने स्वीकारोक्ति मात्र पनि पर्याप्त नहोला, ‘अब हामी गर्छौं’ भन्ने बिश्वाशिलो जन–प्रतिबद्धता चाहिएको छ । नेपालको पुनर्जागरण केवल शैक्षिक क्षेत्रको बोझ होइन । यो सम्पूर्ण राष्ट्रको साझा यात्रा हो। र यस यात्रामा सरकारको निष्ठा, दूरदृष्टि र कार्यकुशलता निर्णायक हुनेछ ।
प्रसंग ११ः पुनर्जागरण चाहनाले होइन, संरचनागत तयारीले सम्भव हुन्छ
नेपालमा उच्च शिक्षाको सम्भावना विषयमा धेरै लेखिएका छन्, धेरै बहस भएका छन । तर तीमध्ये धेरै ‘इच्छा’ स्तरमै सीमित छन् । अभ्यास र प्रणालीको तहमा पुग्दा स्थिति अत्यन्त विघटनशील देखिन्छ । विश्वविद्यालयहरूमा प्रशासनिक अस्थिरता व्याप्त छ, अनुसन्धान बजेट नगण्य छ, अनि स्नातकोत्तर शिक्षालाई रोजगारी वा नवप्रवर्तनसँग जोड्ने प्रणाली अभावमा छ ।
सम्भावना त प्रत्येक देशसँग हुन्छ, तर इतिहासले परिवर्तन त्यहीँ लेख्छ जहाँ सम्भावनालाई नीति, लगानी र संस्थागत सुधारले सशक्त बनाउँछ । जापानले दोस्रो विश्वयुद्धपछिको ध्वस्त अवस्थाबाट शिक्षा र अनुसन्धानमार्फत पुनर्निर्माण ग¥यो। दक्षिण कोरियाले उच्च शिक्षालाई सूचनातन्त्र, प्रविधि र नवप्रवर्तनसँग जोड्दै विश्वमा नेतृत्व लियो। यी उदाहरणहरू प्रेरणादायी छन्, तर तिनको सार यही हो । पुनर्जागरण चाहनाबाट होइन, संरचनात्मक हस्तक्षेपबाट सुरु हुन्छ ।
प्रसंग १२ः अन्तर्राष्ट्रिय दृष्टान्त र नेपाल
मलेसिया अहिले दक्षिण–पूर्व एशियाली शिक्षा केन्द्रका रूपमा चिनिन्छ । एशियाको शिक्षको केन्द्रका रुपमा परिकल्पना बोकेको यो मुलुकले विदेशी विद्यार्थीलाई लक्षित गरी पाठ्यक्रम, पूर्वाधार, र नीति निर्माणमा दशकौं खर्चेको छ । भारतले ‘स्टडी इन इण्डीया’ कार्यक्रम ल्याएर विदेशी विद्यार्थीलाई आकर्षित गर्ने विविध उपायहरू अवलम्बन गरेको छ । नेपालले पनि यी दृष्टान्तबाट सिक्न सक्छ ।
तर, नेपालमा अवस्था केही फरक छ । हामीकहाँ न नीति स्पष्ट छ, न कार्यान्वयनको प्रतिबद्धता । विश्वविद्यालयहरू अझै पनि आन्तरिक विवाद र राजनैतिक हस्तक्षेपमा अल्झिएका छन् । शिक्षालाई ‘नियन्त्रण गर्ने विषय’ जस्तो व्यवहार गरिएको छ, जब कि त्यो ‘सृजना गर्ने क्षेत्र’ हो ।
प्रसंग १३ः अबको बाटो नीति सुधार र रणनीतिक हस्तक्षेप
नेपालले यदि आजैबाट शिक्षामा नविकरणको अभियान प्रारम्भ ग¥यो भने मात्र केही वर्षभित्रै महत्वपूर्ण परिवर्तन सम्भव छ । तर यसका लागि के–के गर्नुपर्छ ?
राष्ट्रिय शिक्षा पुनर्जागरण आयोग
यस आयोगमा सरकार, निजी क्षेत्र, शैक्षिक संस्था, विद्यार्थी प्रतिनिधि र अन्तर्राष्ट्रिय सल्लाहकारको सहभागिता हुनुपर्छ। केवल विश्वविद्यालय प्रशासन सुधार होइन, सम्पूर्ण उच्च शिक्षा प्रणालीको समिक्षा र पुनः संरचना आवश्यक छ । यो आयोगले दीर्घकालीन शिक्षा रणनीति, अनुसन्धान पूर्वाधार, पाठ्यक्रम नविकरण र शिक्षालाई अर्थतन्त्रसँग जोड्ने मोडल विकास गर्नुपर्छ।
अन्तर्राष्ट्रिय विद्यार्थी मैत्री नीति
शैक्षिक भिसा प्रक्रियामा पारदर्शिता, आवास सुविधा, स्वास्थ्य बीमा, भाषा सहायता, सांस्कृतिक अभिमुखिकरणजस्ता पक्षलाई व्यवस्थित नीति अन्तर्गत ल्याउनु आवश्यक छ जुन घोषणामा सीमित हुनु हुँदैन । ‘स्टडी इन नेपाल’ कार्यक्रम प्रचारात्मक भन्दा पनि कार्यात्मक हुनु पर्छ ।
शिक्षा र रोजगारबीचको गहिरो सम्बन्ध उन्मुख रणनीति
अहिलेको शिक्षाले केवल डिग्री उत्पादन गर्छ, तर सीप र रोजगार सिर्जना नगर्ने अवस्थामा छ ।यसलाई बदल्न विश्वविद्यालयहरूले उद्योगसँग सहकार्य गरेर परियोजना आधारित सिकाइ, इनक्युबेसन केन्द्र, स्टार्टअप समर्थन, व्यावसायिक प्रशिक्षणजस्ता प्रणाली ल्याउनुपर्छ । जस्तै, जर्मनीको दोहोरो शिक्षा प्रणालीले पढाइ र व्यवहारिक सीपलाई एकसाथ विकास गर्छ, त्यस्तै प्रणाली नेपालमा पनि लागू गर्न सकिन्छ ।
ब्रान्डिङ र अन्तर्राष्ट्रिय साझेदारी
नेपाललाई ‘शान्तिको देश’, ‘धार्मिक सहिष्णुताको स्थल’ र ‘सस्तो, हरित, जैविक जीवनशैली’को पर्यायवाची बनाई प्रस्तुत गर्नुपर्छ । विश्वविद्यालयहरूले अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गरेर सञ्जाल विस्तार गर्नुपर्छ ।
अनुसन्धान र मौलिक ज्ञान प्रणालीको एकीकरण
हिमाली पर्यावरण, आयुर्वेद, जैविक कृषि, योग–ध्यान, मौलिक भाषाहरू, लोककला र सामाजिक संरचनामाथि आधारित अध्ययन, अनुसन्धान र ज्ञान व्यवस्थापनका लागि अलग–अलग केन्द्रहरू आवश्यक छन्। अन्तर्राष्ट्रिय विद्यार्थीलाई यस्ता क्षेत्रमा अनुसन्धान अवसर र फील्ड स्कूलको अवसर दिन सकिन्छ ।
सरकार, विश्वविद्यालयहरू र निजी क्षेत्रले अनुसन्धान अनुदान, प्रयोगशालाहरू, पुस्तकालय तथा अनुसन्धान केन्द्रहरूमा लगानी बढाउनुपर्छ । यो लगानी भविष्यका आविष्कार, समाधान र ज्ञान सिर्जनाको आधार हुनेछ ।
निष्कर्षः पुनर्जागरणको ढोका खोल्ने कि बन्द गर्ने ?
नेपाल अहिले एक ऐतिहासिक मोडमा उभिएको छ । हामीसँग समय सीमित छ—किनभने बाह्य गन्तव्यहरू झनझन कठिन हुँदै गइरहेका छन्, र आन्तरिक शिक्षाको प्रणाली अझै अनिर्णय र असमर्थतामा अल्झिएको छ । अब हामीसँग विकल्प छैन—या त शिक्षामा लगानी गरेर नेपाली उच्च शिक्षालाई सशक्त बनाउने, या त प्रवासी शिक्षाको अपूर्ण यात्रालाई नियति मान्ने ।
यदि आज सरकार, विश्वविद्यालय, अनुसन्धान संस्था, निजी क्षेत्र र नागरिक समाज मिलेर साझा सपना बोकेर अघि बढ्न सके, भने नेपाल अध्ययन, अनुसन्धान र नवप्रवर्तनको एक वैकल्पिक केन्द्र बन्न सक्छ । तर त्यो सपना पुस्तिकामा होइन, संस्थागत संरचनामा उतारिनुपर्छ । नीति, लगानी र प्रतिबद्धताले मात्रै पुनर्जागरण सम्भव छ ।
अब हाम्रो पालो हो, एक ऐतिहासिक मोडमा निर्णय लिन र आगामी पुस्ताका लागि नेपाललाई शिक्षाको नयाँ गन्तव्य बनाउने ।
(दुल्लभ मावि, रेडन कलेजका पूर्वप्राचार्य, नेल्टाका पूर्वअध्यक्ष तथा नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय वरिष्ठ उपाध्यक्ष डा. भट्ट कोवेन्ट्री विश्वविद्यालय ग्रुप, बेलायतमा प्राध्यापन गर्छन् )
प्रतिक्रिया