काठमाडौं : उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न १४ वटा उद्योग र फर्महरूमाथि अनुगमन गरी जरिवाना तथा निर्देशनको कारबाही गरेको छ।
विभागद्वारा बुधबार सार्वजनिक गरिएको प्रेस विज्ञप्तिअनुसार अनुगमनका क्रममा उपभोक्ता अधिकार विपरीत क्रियाकलाप गर्दै आएका केही फर्महरूलाई जरिवाना गरिनुका साथै केहीलाई आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको हो।
उपभोक्ता संरक्षण ऐनको विभिन्न दफाबमोजिम उरी एजुकेशन सेन्टरलाई ५१ हजार रुपैयाँ, सुपरनोभा एजुकेशन कन्सल्टेन्सी र बिटल्स कार डेकोरलाई ५०र५० हजार रुपैयाँ, अत्त कार डेकोरेसन र सुदृष्टि आयकोनिकलाई १०-१० हजार रुपैयाँ जरिवाना गरिएको छ।
त्यसैगरी जेभियर इन्टरनेशनल, ओहायो इन्टरनेशनल, अमूल्य स्टोर मल, एस इम्पेक्स, एप्लायन्सेस हब लगायत पाँच संस्थालाई व्यवसायसम्बन्धी कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
रुकमणी मार्बल एण्ड ग्रेनाइट हाउस, जय अम्बे ट्रेडिङ, जीपीपी मेन्काइण्ड फार्मेसी र कपालिनी ट्याक्टर स्पेयर्सलाई भने साधारण निर्देशन दिइएको विभागले जनाएको छ।
विभागले उपभोक्ताको हित र अधिकार सुनिश्चित गर्न निरन्तर अनुगमनलाई तीव्र बनाइएको भन्दै उपभोक्ताहरूलाई सजग रहन र कुनै पनि प्रकारको ठगी वा अनुचित व्यापारिक अभ्यासको जानकारी भएमा विभागमा उजुरी दिन अनुरोध गरेको छ।
प्रतिक्रिया