महेन्द्रनगर : मधेश प्रदेशका मुख्यमन्त्री शतिसकुमार सिंहले चुरे क्षेत्रको संरक्षण गर्नु भनेको मधेसको भविष्य सुरक्षित गर्नु हो भन्ने धारणा व्यक्त गरेका छन्।
जनकपुरधाममा आज आयोजित "चुरे–तराई–मधेस क्षेत्रमा पानी संरक्षण तथा व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम"मा बोल्दै मुख्यमन्त्री सिंहले पानी, वन र माटोको संरक्षणले मात्र दिगो विकास सम्भव हुने स्पष्ट पारे।
राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति ललितपुर, रेड कार्यान्वयन केन्द्र काठमाडौं र मधेश प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा भएको कार्यक्रममा मुख्यमन्त्री सिंहले जलस्रोतको दिगो व्यवस्थापनका लागि संघीय, प्रदेश र स्थानीय तहबीच सहकार्य अनिवार्य रहेकोमा जोड दिए।
मुख्यमन्त्री सिंहले भने, “चुरे क्षेत्रको संरक्षणसँग मधेशको भविष्य गाँसिएको छ। प्रदेश सरकारले वातावरण संरक्षण र जलस्रोत व्यवस्थापनमा विशेष प्राथमिकता दिएको छ।”
कार्यक्रममा मधेश प्रदेशका वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले चुरे क्षेत्रको अव्यवस्थित दोहनले तराई–मधेसमा गम्भीर जलसंकट निम्त्याएको बताए। उनले वैज्ञानिक अनुसन्धान, स्थानीय सहभागिता र सरकारी प्रतिबद्धता बिना समस्या समाधान असम्भव हुने बताए।
राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिका अध्यक्ष डा.किरण पौडेलले चुरे क्षेत्रका जलस्रोत नबचाए पानीको संकट झनै भयावह हुने चेतावनी दिए। “संरक्षणका लागि एउटै निकायको प्रयास पर्याप्त हुँदैन,” भने, “संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय अपरिहार्य छ।”
कार्यक्रममा वन विज्ञ, वातावरणविद्, स्थानीय सरकारका प्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्था र विभिन्न तहका जनप्रतिनिधिको उपस्थिति रहेको थियो। कार्यक्रममा चुरे क्षेत्रका जलस्रोत, तिनको संरक्षण रणनीति, वातावरणीय असर र समुदायको भूमिकासम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो।
प्रतिक्रिया