नयाँ दिल्ली : भारत भ्रमणमा रहेका नेपाली राजनीतिक दलका युवा नेताहरूले आज भारतीय विदेशमन्त्री एस.जयशंकरसँग भेट गरेका छन्।
भेटका क्रममा समसामयिक नेपाली राजनीति, क्षेत्रीय सहयोग तथा दुई देशबिचको जनस्तरको सम्बन्धबारे कुराकानी भएको छ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव ढुङ्गानाका अनुसार उक्त संवादमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विशेष ध्यान दिइएको थियो ।
उनले भने, “दुई देशबिचको ऐतिहासिक सम्बन्धलाई नयाँ पुस्ताले कसरी अझ मजबुत बनाउने भन्ने सन्दर्भमा विचार–विमर्श भयो।”
भेटवार्तामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका युवा नेताहरूको सहभागिता रहेको जनाइएको छ।
जयशंकरसँगको संवादमा द्विपक्षीय सहकार्य, भविष्यको नेतृत्वको भूमिका र जनस्तरको सम्बन्ध गहिरो बनाउने उपायबारे विचार आदान–प्रदान गरिएको थियो।
यस भ्रमणले नेपालको युवा नेतृत्व र भारत सरकारबीच सकारात्मक कूटनीतिक संवादको अभ्यास भएको नेताहरूले बताएका छन्।
प्रतिक्रिया