धनुषामा सशस्त्र प्रहरी र तस्करबीच झडप, ४ राउण्ड हवाई फायर

बुधबार, २१ साउन २०८२
साङ्केतिक तस्बिर

धनुषा : भारतबाट तस्करी गरेर ल्याएको अवैध सामान नियन्त्रणमा लिने क्रममा धनुषाको विदेह नगरपालिका–२ दुहबीस्थित आँप बगैँचामा सशस्त्र प्रहरी र तस्कर समूहबिच झडप भएको छ।

स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चार राउण्ड हवाई फायर गर्नुपरेको छ।

 साँझ करिब सवा ८ बजे तस्कर समूहले भारततर्फबाट ल्याउँदै गरेको सामान नियन्त्रणमा लिँदै गर्दा झडप भएको हो।

सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट डिएसपीको कमाण्डमा गएको सुरक्षादलमाथि तस्कर र स्थानीयवासीले एकाएक ढुङ्गा प्रहार गरेका थिए।

सुरक्षा जोखिम बढेपछि एसएलआर प्रयोग गरी ४ राउण्ड हवाई फायर गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

झडपपछि केही तस्करीका सामानहरू स्थानीयले लुकाएको भए पनि प्रहरीले एक मोटरसाइकल र केही सामग्री नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरीका अनुसार तस्करी नियन्त्रणमा कठोरता अपनाइने र सीमावर्ती क्षेत्रमा गस्ती थप कडा बनाइने तयारी गरिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार