काठमाडौँ : देशभर सक्रिय मनसुनका कारण आज मधेश प्रदेशसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालका तराई नजिकै भएकाले अधिकांश भूभागमा वर्षा सम्भावना बढेको हो।
हाल देशभर सामान्यदेखि मध्यम बदलीको स्थिति रहेको छ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो यी पाँचै प्रदेशमा मध्यम वर्षा र कोशी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। रातिको समयमा पनि यिनै प्रदेशहरूसँगै बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षा र कोशी तथा बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने अनुमान छ।
यस्तो वर्षाले बाढी, पहिरो तथा डुबानको जोखिमसमेत बढाउने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
मनसुन अझै सक्रिय रहने देखिएकाले महाशाखाले सबैलाई पछिल्लो मौसमी सूचनाबारे जानकारी लिनु र आवश्यक सावधानी अपनाउन विशेष अनुरोध गरेको छ।
प्रतिक्रिया