विराटनगर । लागुऔषध मुद्दामा पक्राउ परेका एक जना आरोपी मोरङको उर्लाबारीबाट फरार भएका छन् । अस्पतालको झ्यालबाट हाम फालेर झापाको दमक नगरपालिका–३ का २७ वर्षीय नगिन लिम्बू भागेका हुन् ।
उनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको थियो । उपचारका क्रममा उनी शनिवार बिहान करिब ३ः१५ बजे अचानक अस्पतालबाट भागेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् ।
साउन २१ गते पक्राउ परेका लिम्बूलाई पेट दुख्ने समस्या देखिएपछि शुक्रबार राति ११ः३० बजे उर्लाबारीकै मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । अनुसन्धानका क्रममा लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले उनलाई ७ दिनको म्याद थप गरी हिरासतमा राखेको थियो ।
लिम्बू फरार भएपछि इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रन्जन बरालको नेतृत्वमा व्यापक रुपमा खोजी भइरहेको छ । फरार लिम्बूलाई खोज्न प्रहरी परिचालन गरिएको डीएसपी चुँडालले बताइन् ।
प्रहरीले मोरङ मिक्लाजुङका हरिभक्त दर्जी र निश्चल पोर्तेललाई लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित प्रहरीले साउन १६ गते पक्राउ गरेको थियो । उनीहरुले उक्त लागुऔषध नगिन लिम्बूबाट खरिद गरेर ल्याएको बताए । त्यसपछि लिम्बूलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको थियो ।
प्रहरीले लिम्बूलाई पक्राउ गर्न सबै माध्यमबाट खोजी तीव्र पार्दै अनुसन्धान जारी राखेको छ । अस्पतालबाट थुनुवा फरार भएपछि त्यहाँ देखिएको कमजोरीका बारेमा पनि अनुसन्धान सुरु गरिएको डीएसपी चुँडालको भनाइ छ ।
प्रतिक्रिया