सुनसरी : सुनसरीको तरहरा–धरान ६ लेन सडक निर्माण ठेकेदार कम्पनीले अधुरो छाडेर सम्पर्कविहीन भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सात दिनको अल्टिमेटम दिएको छ।
प्रदेश खबरमा समाचार प्रकाशन भएपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्र मिश्रले आयोजना प्रमुख राजेन्द्रप्रसाद शाहलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर ठेकेदार कम्पनी ‘हिम्डुङ प्यासिफिक जेभी’लाई सात दिनभित्र काम पुनः सुरु गर्न निर्देशन दिएका हुन्।
झन्डै ५.३ किलोमिटर लामो यो सडक खण्डको करिब ३० प्रतिशत काम अझै अधुरो छ। ठेकेदार कम्पनी सम्पर्कविहीन भएपछि निर्माण कार्य पूर्णरूपमा ठप्प भएको हो। प्रजिअ मिश्रले कम्पनीलाई तत्काल सम्पर्कमा आउन र निर्माण कार्य अघि बढाउन चेतावनी दिएका छन्। सात दिनभित्र काम सुरु नगरे कानुनी कारबाही हुने स्पष्ट पार्दै, निर्माण कम्पनीका प्रतिनिधि प्रेमकुमार मल्ललाई अल्टिमेटम पठाइएको छ।
२०७९ सालमा ४३ करोड ४६ लाख रुपैयाँ लागतमा सुरु भएको उक्त आयोजनाको काम २०८० असारभित्र सक्ने सम्झौता थियो। निर्धारित म्यादमा काम नसकिएपछि म्याद थपेर २०८१ असोज ३० सम्म पुर्याइएको थियो। तर,म्याद सकिनु अघि नै ठेकेदार बेपत्ता भएपछि सडक खण्ड विभिन्न स्थानमा उप्किन थालेको छ।
हालसम्म कालोपत्रे (बेरिङ कोर्स),आन्तरिक भराइ, डेलिनेटर जडानलगायतका महत्त्वपूर्ण कार्य अधुरै छन्। कतिपय स्थानमा कालोपत्रे उप्किसकेको छ भने अन्यत्र निर्माण नहुँदा सडक खाल्डाखुल्डीयुक्त बनेको छ, जसले सवारी आवागमनमा सास्ती थपिएको छ।
६ लेन आयोजनाका अनुसार निर्माण कम्पनीलाई पटक–पटक ताकेता गर्दा पनि कम्पनीले अटेरी गर्दै कुनै प्रतिक्रिया दिएको छैन ।
यसैबिच, प्रजिअ मिश्रले सुनसरीका विभिन्न स्थानमा सञ्चालनमा रहेका अधुरा योजनाहरू पनि तोकिएको समयमा सम्पन्न गर्न निर्देशन दिएका छन्। योजनाहरू समयमा नसक्ने प्रवृत्ति बढ्दै गएको भन्दै उनले सम्बन्धित कार्यालयका प्रमुखहरूलाई कडाइका साथ योजना अनुगमन गर्न भनेका छन्।
रानी-विराटनगर हुँदै धरान तीनकुनेसम्मको ४४.२७ किलोमिटर लामो ६ लेन सडक योजना १६ ओटा निर्माण कम्पनीहरूसँग ठेक्का सम्झौता गरेर अघि बढाइएको थियो । तर, कार्यान्वयनमा अपेक्षित गति नआएको देखिन्छ। हालसम्म जम्मा ३२.८४ किलोमिटर मात्रै सडक निर्माण सम्पन्न भई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया