खोटाङमा हराएका दिदीभाइ मृत फेला, प्रहरीको अनुसन्धान सुरु

आइतबार, २५ साउन २०८२

खोटाङ : खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बु सापातेलका दुई दिदीभाइ जङ्गलमा मृत फेला परेका छन्। साउन २२ गते बिहान घर छाडेर हिँडेका ६ बालबालिकामध्ये ११ वर्षीया मेनिषा बस्नेत र उनका ६ वर्षीय भाइ मेगराज बस्नेतको शव गाउँनजिकैको जङ्गलमा भेटिएको हो।

स्थानीयका अनुसार गोविन्द बस्नेतका तीन सन्तानमध्ये दुईको मृत्यु भएको हो। श्रीमती अर्कैसँग विवाह गरेर गएपछि गोविन्द दुवै छोरी र एक छोरासहित बस्दै आएका थिए। उनी स्थानीय शान्ति निकेतन माध्यमिक विद्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत छन् र प्रायः छोराछोरीलाई आफूसँगै विद्यालय लैजाने गर्थे। तर, उक्त दिन भने हतारमा आफू स्कुल जाँदै छोराछोरीलाई पछि आउन भनेका थिए।

स्कुल नगई साथीहरूसँगै गाउँबाट निस्किएका उनीहरू हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र छोरम्बु सीमा हुँदै थ्री स्टार हाइड्रोपावरसम्म पुगेका देखिएको प्रत्यक्षदर्शीको भनाइ छ। घर फर्कँदै गर्दा बाटो बिराई रात पर्नुका साथै जङ्गलमा भीरबाट लडेर दुवैको मृत्यु भएको स्थानीयको अनुमान छ। शवमा घाउ–चोटका दाग देखिएको छ।

सोही क्रममा हराएका बाँकी ४ बालबालिका भने भोलिपल्ट बिहान घटनास्थलनजिकैको ओढारमा जीवित भेटिएका छन्। घटनापछि गाउँलेले शवलाई गाउँमा लगेर दाहसंस्कार गरिसकेका थिए।

तर, पोष्टमार्टम नगरी दाहसंस्कार गरिएको खबर पाएपछि प्रहरीले घटना शंकास्पद भन्दै अनुसन्धान थालेको छ। जिल्ला प्रहरी कार्यालय खोटाङले घटनास्थल सुरक्षित गर्दै थप तथ्य संकलन भइरहेको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार