विराटनगर । कोशी प्रदेश सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि नै बीएससी नर्सिङ कार्यक्रम सञ्चालन गर्ने तयारी गर्दै नयाँ पाठ्यक्रम तयार गरेको छ ।
यसका लागि धनकुटा जिल्ला अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न हस्तान्तरण प्रक्रिया सुरु भइसकेको छ । उपकुलपति डा. सुवासश्री पोखरेलका अनुसार सेमेस्टार प्रणालीमा आधारित चार बर्से यो कोर्षलाई आठ सेमेस्टरमा विभाजन गरिएको छ ।
विद्यार्थीहरूले ४० प्रतिशत सैद्धान्तिक र ६० प्रतिशत प्रयोगात्मक कक्षा उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरिएको छ । बजारको माग र अन्तर्राष्ट्रिय मापदण्डलाई ध्यानमा राखेर दक्ष नर्स उत्पादन गर्ने उद्देश्यले पाठ्यक्रम निर्माण गरिएको उनले बताए ।
प्रदेश स्वास्थ्य सचिव डा. राधिका थपलियाले बिरामीको हेरचाह मात्र नभई अनुशासित नेतृत्व क्षमता पनि नर्सका लागि अपरिहार्य हुने भन्दै पाठ्यक्रममा त्यसलाई समेटिएको बताइन् । रजिस्ट्रार डा. दिलनाथ फुयाँलका अनुसार पुरुष विद्यार्थीका लागि १५ प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ ।
कोशीको सामाजिक विकास मन्त्रालयको उच्च शिक्षा महाशाखा प्रमुख दामोदर फुयाँलले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय पाठ्यक्रमको अध्ययन–विश्लेषणपछि यसलाई फरक ढङ्गले तयार गरिएको बताए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ सेवा विज्ञ डा. रामशरण मेहताले जेनियाटिक, होम तथा मानसिक स्वास्थ्य नर्सिङ लगायतका अभाव पूर्ति हुने बताउँदै यसलाई व्यवहारमा उतार्ने चुनौती रहने टिप्पणी गरे ।
विराटनगर नर्सिङ क्याम्पस प्रमुख मेनुका भण्डारीले यो कोर्स जागिर खोज्ने मात्र नभएर आफैँ रोजगारी सिर्जना गर्न चाहनेका लागि पनि उपयोगी हुने धारणा राखिन् । मनमोहन विश्वविद्यालय, जुन २०७६ सालमा स्थापना भएको हो, अहिले इन्जिनियरिङ, फार्मेसी, अस्पताल व्यवस्थापन लगायतका स्नातक तथा स्नातकोत्तर कार्यक्रम सञ्चालन गरिरहेको छ ।
यसले देशमै पहिलो पटक बिबिए एलएलबी पाँच वर्षे तथा अपराध शास्त्रमा एलएलएम पढाइ सुरु गरिसकेको छ । विश्वविद्यालयले आगामी १० वर्षभित्र विभिन्न विषयमा पिएचडीसहित थप कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया