सामाजिक सुरक्षा भत्ता नपाएपछि नगरपालिकामा तालाबन्दी

आइतबार, २५ साउन २०८२

रौतहट । रौतहटको गुजरा नगरपालिकाको कार्यालयमा सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले तालाबन्दी गरेका छन् ।

लामो समयसम्म पनि सामाजिक सुरक्षा र बालपोषण भत्ता रकम नपाएको भन्दै उनीहरूले आइतबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

गुजरा नगरपालिकाले एनआईसी एसिया बैङ्क सिमरा भवानीपुर शाखामार्फत सामाजिक सुरक्षा भत्ताको रकम वितरण गर्दै आएको छ ।

नगरपालिकाले गएको असार ११ गते बैकको खातामा सामाजिक सुरक्षा भताको रकम जम्मा गरेको थियो । सामाजिक सुरक्षा भत्ता समयमा नै दिने उद्देश्यले बैकमा जम्मा गरे पनि अहिलेसम्म नपाउनु दुखद भएको गुजरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय नारायण देवकोटाले बताए ।

आफू यस कार्यालयमा हाजिर भएर आएपछि पहिलो प्राथमिकता सामाजिक सुरक्षा भत्ता वितरण लाई दिएको उनले उल्लेख गरे ।

एक वर्षदेखिको बालपोषण भताको रकम बैङ्कले वितरण नगरेको स्थानीयले बताएका छन । सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैङ्कले कर्मचारीको अभाव देखाउने गरेको उनीहरूको गुनासो छ ।

ज्येष्ठ नागरिकको भत्ताको  लागि नगरपालिकाले  ५ करोड रकम जम्मा गरेको थियो भने  बाल पोषणको लागि ९४ लाख रुपैयाँ बैकमा छ । एनआईसी एसिया बैकका शाखाका म्यानेजर सदेउ प्रवेजले विविध कारणले सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ भएको बताए ।

तालिका प्रकाशन हुन ढिलाइ भएकाले भत्ताको रकम वितरणमा ढिला भएको उनको भनाइ छ । अब छिटै वितरण गरिने उनले जानकारी दिए ।

गुजरा नगरपालिकाको तथ्याङ्क अनुसार ३ हजार ३ सय ज्येष्ठ नागरिक र ५ हजार ४ सय बालपोषण भत्ता बुझ्ने सङ्ख्या रहेका छन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार