विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–१ झरनाकुटुमा घरायसी विवादका क्रममा श्रीमानले कुटपिट गर्दा १ जना महिलाको मृत्यु भएको छ ।
घरायसी विवादमा ४५ वर्षीय बाबुधन सतारले कुटपिट गर्दा श्रीमती ४० वर्षीया दुर्बी सतारको मृत्यु भएको मोरङ प्रहरीका डीएसपी हस्तबहादुर सुनारले जानकारी दिए । उनका अनुसार बाबुधनले आइतबार राति ८ बजेतिर श्रीमतीलाई कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
कुटपिटबाट कानमा चोट लागेर घाइते भएकी दुर्बीलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । अवस्था गम्भीर बन्दै गएका बेला सोमबार आफन्तले आफूखुसी घरतिर लिएर गएका थिए । घर लैजाँदै गर्दा साँझ बाटैमा उनको मृत्यु भएको डीएसपी सुनारले बताए ।
श्रीमान–श्रीमतीको झगडा छुट्याउन गएका छिमेकी ५० वर्षीय छोटेलाल हस्दासमेत घटनामा परेर घाइते भएका थिए । उनको टाउकोमा चोट लागेको छ । श्रीमानको कुटाइबाट घाइते भएकी दुर्बी र छोटेलाललाई उपचारका लागि कोशी अस्पताल ल्याइएको थियो ।
छोटेलालको भने अवस्था सामान्य रहेको र कोशीमै उपचार भइरहेको प्रहरीले जनाएको छ । श्रीमतीको हत्यामा संलग्न बाबुधनलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।
उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी तुलसीराम अर्याल नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया