रास्वपाका उपसभापति डिपी अर्यालको सुमिरे ट्राभल्सबाट कोरिया गएका उतै लुके

सोमबार, २६ साउन २०८२

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डिपी) अर्यालको सुमिरे टुर एन्ड ट्राभल्सबाट भिजिट भिसामा कोरिया र डेनमार्क पुगेका केही व्यक्ति उतै लुकेको पाइएको छ। नेपाल स्काउटको लोगो देखाई टिकट काटेर गएका उनीहरू उतै लुकेका हुन्।

नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले दर्जनौं ट्राभल एजेन्सीले भिजिट भिसामा पठाएका नागरिकको विवरण अनुसन्धान गर्ने क्रममा यो तथ्य फेला पारेको हो। ब्युरोले भने यो विषयलाई गोप्य राख्न खोजेको छ। ब्युरोका एक अधिकारीका अनुसार स्काउट प्रतिनिधिहरूलाई यो विषयमा सोधपुछ गरिएको छ।

स्रोतले दिएको विवरण अनुसार स्याङ्जाका कानुन लामिछाने डेनमार्क पुगेर फर्केका छैनन्। उनीसहित २० जना स्काउटको कार्यक्रममा भाग लिन डेनमार्ग पुगेका थिए। उनीसँग धेरैजसो विद्यार्थी गएका थिए। विद्यार्थी भने फिर्ता आएको तर लामिछाने उतै बसेको बताइएको छ।

त्यसैगरी सन् २०२३ मा दक्षिण कोरियामा भएको विश्व स्काउट ज्याम्बोरीमा सहभागी हुन एक सय ६३ जना गएका थिए। त्यसमध्येका तीन जना उतै लुकेका थिए। उतै लुक्नेमा मेगाकुमारी रेउले, पाल्देन तामाङ र सचिन थोकर हुन्। त्यहाँ सुरुमा रसिला राई लुके पनि केही समयपछि नै फर्केकी थिइन्। आफ्नै खर्च हुने भएकाले उनीहरूमध्ये ९५ प्रतिशतले सुमिरे ट्राभल्सबाट टिकट लिएका थिए।

उक्त ट्राभल एजेन्सी सञ्चालन गर्दै आएका अर्यालले भने यो विषय स्काउटको भएकाले आफूलाई सबै कुरा जानकारी नभएको र लामो समयदेखि ट्राभल एजेन्सी आफूले नहेरेको बताए। ‘यसमा हाम्रो ट्राभल्सको कुनै नाता छैन, हुँदैन पनि। मैले ट्राभल्स नहेरेको धेरै वर्ष भयो। कति जना गएका थिए, कसले पठायो भन्ने सम्बन्धमा मलाई जानकारी छैन। पठाएको स्काउटले हो, स्काउट नै जिम्मेवार हुन्छ। यो विषयमा स्काउटलाई नै सोध्नुभयो भने सबै विवरण उपलब्ध हुन्छ,’ अर्यालले भने।

स्काउटले उनीहरू कोरिया र डेनमार्क गएको र टिकट लिएको सबै विवरण प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोलाई उपलब्ध गराएको छ। उपलब्ध विवरणमा स्काउटका नाममा उनीहरू गएको र आफैंले पैसा तिरेर सुमिरे ट्राभल्सबाट टिकट काटेको खुल्न आएको छ। कोरिया र डेनमार्ग पुगेकाहरू नफर्केपछि स्काउटले त्यहाँको प्रहरीलाई पनि यसबारे जानकारी गराएको थियो। तर त्यहाँको प्रहरीले वास्ता नगरेको बताइएको छ।

नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले कोरिया र डेनमार्ग पुगेका केही व्यक्ति लुकेको स्वीकार गरे। ‘उहाँहरू लुकेको कुरा सत्य हो। हामीले त्यहाँको प्रहरीलाई पत्राचार गरेर लुकेर बसेकालाई फिर्ता पठाइदिन आग्रह गर्‍यौं तर फिर्ता भएको अवस्था छैन। जानुअघि लुक्दैनौं भन्ने कागजात पनि गराएका थियौं। यससम्बन्धी सबै विवरण हामीले प्रहरीलाई उपलब्ध गराएका छौं,’ भट्टराईले भने। भट्टराईले पनि सुमिरे ट्राभल्सबाट उनीहरूले टिकट काटेको बताए।

जापानमा भिजिट भिसाका नाममा मानिस पठाउँदा अर्बौं रुपैयाँ लिएर बदमासी गरेको आरोप लागेपछि नेपाल प्रहरीले यो विषयमा चासो राख्दा एक जना डेनमार्क र तीन जना कोरियामा लुकेको भेटिएको थियो। विगत १० वर्षदेखि भिजिट भिसामा जापान पठाउँदै आएको सो ट्राभल्सबारे संसद्मा समेत कुरा उठेपछि नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ। ‘हामीले यो विषयमा चासो राखेका थियौं तर अहिलेसम्म केही फेला परेको छैन,’ ब्युरोका एक प्रहरी अधिकृतले भने।

 प्रतिनिधिसभामा ओखलढुंगाका सांसद रामहरि खतिवडाले असार १४ मा सुमिरे टुर एन्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा पठाएका हजारौं मानिसबाट अर्बौं रुपैयाँ लिएर बदमासी गरेको आरोप लगाएका थिए। सो आरोपपछि प्रहरीको मानव बेचबिखन ब्युरो सक्रिय भएको थियो।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेले सो ट्राभल्सबारे कहींकतैबाट उजुरी नआएको बताए। ‘यस्ता विषयमा प्रहरीको चासो हुन्छ तर सो ट्राभल्सको हकमा उजुरी परेको छैन। संसद्मा केके विषयहरू उठ्छन्। त्यसमा हाम्रो ध्यान छैन,’ घिमिरेले भने।

उच्च प्रहरी स्रोतका अनुसार प्रहरीले चासो राख्दा अध्यागमन विभागबाट भन्दा पनि ट्राभल्सबाट नै सबै विवरण लिनुपर्ने देखिएपछि प्रहरीले त्यतातर्फ ध्यान केन्द्रित गरेको जनाएको छ। तर प्रहरीले अहिलेसम्म कुनै सामग्री फेला पार्न सकेको छैन। सुमिरे ट्राभल्सबारे प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले अनुसन्धानको माग गरेका थिए।

उनले रास्वपाप्रति लक्षित गर्दै विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौं मान्छे पठाएर अर्बौं पैसा लिएर संसद्मा प्रतिनिधित्व गर्ने र संसद् किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भइरहेको बताएका छन्। केही मानिस यदाकदा संसद्मा आएर उफ्रिने काम भएको पनि उनले बताएका थिए। उनले यसमा निष्पक्ष छानबिन गरी कारबाहीको दायरा अघि बढाउन माग गरेका थिए।

‘आफ्ना कुरा राख्ने, अरू माननीय सदस्यहरूले कुरा राख्न थाल्दा नारा लगाउने प्रक्रिया संसद्मा जारी छ, यसलाई अन्त्य गर्न अनुरोध गर्न चाहन्छु। सुमिरे टुर एन्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो? विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौं मान्छे पठाएर अर्बौं पैसा लिएर संसद्मा प्रतिनिधित्व गर्ने र संसद् किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भएको छ। तिनै मान्छेहरू यदाकदा संसद्मा आएर उफ्रिने काम भएको छ। यसमा निष्पक्ष छानबिन भएर कारबाहीको दायरा अघि बढोस्,’ संसद्मा खतिवडाले भनेका थिए।

त्यसको काउन्टरमा रास्वपा उपसभापति अर्यालले सभामुखसमक्ष खतिवडाको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए। उनले भिजिट भिसा प्रकरणमा आफ्नो कम्पनी सुमिरे टुर्स एन्ड ट्राभल्सको नाम अनावश्यक रूपमा जोडिएको भन्दै आपत्ति जनाएका थिए। ‘२०४८ सालतिर मन्त्रीको पिए बसेर सरकारी कागजात किर्ते गरी मान्छे विदेश पठाएबापत हनुमान ढोकाको चिसो छिँडीमा धेरै रात बिताएकाहरू यही संसद्मा छन्।

अरूलाई आक्षेप लगाउनेहरू भिसा पाए भने आफैं टाप कस्लान्। हो म गर्वका साथ भन्छु– सुमिरे टुर्स एन्ड ट्राभल्स मेरो कम्पनी हो। म यही देशमा केही गरेर खाने मान्छे हो, चोरेर खाने मान्छे होइन,’ संसद्मा अर्यालले भनेका थिए, ‘मेरो समय ठिकै चलेको छ। अरूको घडीको समय बिग्रेको छ भने म के भनूँ। हामीले पैसा लिएका छौं र फर्केका छैनन् भने प्रमाण पेस गर्न चुनौती दिन्छु। होइन भने निराधार आरोप संसद्को रेकर्डबाट हट्नुपर्छ भन्ने सभामुखज्यूसमक्ष रुलिङ माग गर्छु।’ 

आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार