विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. विक्रम श्रेष्ठ नियुक्त

मंगलबार, २७ साउन २०८२

धरान : विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा प्रा.डा. बिक्रम श्रेष्ठ नियुक्त भएका छन्। 

सर्च कमिटीले सिफारिस गरेका चार जनामध्ये श्रेष्ठलाई प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज मङ्गलवार नियुक्त गरेका हुन्। प्रा.डा. श्रेष्ठले भोलि बुधवार  नियुक्तिपत्र बुझ्ने कार्यक्रम रहेको जनाइएको छ।

उपकुलपति पदका लागि चार जनाको नाम सिफारिस गरेको थियो। अन्तिम चरणको अन्तरवार्ता र प्रस्तुतीकरणपछि प्रा.डा. प्रह्लाद कार्की, प्रा.डा. रामेश कोइराला र प्रा.डा. रोहित यादवको नाम अगाडि बढाइएको थियो। तर, प्रतिष्ठान तथा स्थानीय तहबाट प्रा.डा. श्रेष्ठको पक्षमा तीव्र दबाब र सिफारिसपछि चौथो नामका रूपमा उनको पनि समावेश गरिएको थियो।

हाड जोर्नी विशेषज्ञ रहेका प्रा.डा. श्रेष्ठ यसअघि एक कार्यकालका लागि प्रतिष्ठानमा शिक्षाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। धरान क्षेत्रमा लामो समयदेखि स्थानीय व्यक्तिलाई उपकुलपतिमा नियुक्त गर्नुपर्ने माग उठ्दै आएको थियो। यही सन्दर्भमा प्रतिष्ठानभित्र र बाहिरबाट श्रेष्ठको पक्षमा सशक्त लविङ समेत भएको थियो।

उपकुलपति पदको दौडमा रहेका प्रा.डा. कार्कीको छवि प्रतिष्ठानभित्रका कर्मचारी र चिकित्सकमाझ कमजोर मानिँदै आएको पृष्ठभूमिमा, श्रेष्ठलाई सिफारिसमा समावेश गरिनुपर्ने माग तीव्र बनेको थियो। कार्की उपकुलपति भए उनको पत्नी सङ्गीता भण्डारी संस्थामा प्रभावशाली हुने आशङ्का पनि उठाइएको थियो।

प्रतिक्रिया

स्वर्णिम राई
लेखकको बारेमा
स्वर्णिम राई
धरानबाट पत्रकारिता गर्ने राई प्रदेश खबरका लागि कलम चलाउँछिन् ।

सम्बन्धित समाचार