इटहरी। इटहरी उपमहानगरपालिकामा बजेट ‘होलिडे’ हुनुको मुख्य कारण नेकपा एमाले र हालकी उपमेयर संगिता चौधरीको गैरजिम्मेवार व्यवहार रहेको आरोप एमालेका वरिष्ठ नेता तथा इटहरीका पूर्वमेयर द्धारीकलाल चौधरीले लगाएका छन्। उनले उपमेयर चौधरीको व्यक्तिगत स्वार्थका कारण बजेट पारित हुन नसकेको दाबी गरेका छन्।
एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै पूर्व मेयर चौधरीले उपमेयरले आफ्नो स्वार्थका लागि केही करोड रुपैयाँ छुट्याउन माग गरेको तर मेयर हेमकर्ण पौडेलले त्यो रकम उपलब्ध नगराउँदा, बहुमतको दम्भमा बजेट रोकिएको बताए। “स्थानीय तहमा बहुमत र अल्पमतको व्यवस्था छैन, तर एमालेकै जनप्रतिनिधिहरू, विशेषतः उपमेयरको भूमिकाका कारण बजेट पारित हुन सकेको छैन,” उनले भने।
पूर्व मेयर चौधरीका अनुसार सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको अपेक्षा हुने ठाउँमा उपमेयर चौधरीले व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएर काम गरेको आरोप लाग्छ। “यो पूर्ण रूपमा गलत हो। मेयर पौडेलले अनौपचारिक बैठक राख्दै बारम्बार बजेट ल्याउने प्रयास गरे पनि सफलता मिलेको छैन,” उनले भने।
इटहरी उपमहानगरपालिकाले गत असार १० गते २ अर्ब ५५ करोड रुपैयाँको बजेट पेश गरेको थियो। तर, उपमेयर चौधरीसहितको बहुमत एमाले जनप्रतिनिधिहरूको असहमतिको कारण बजेट ‘होलिडे’ बनेको हो।
प्रतिक्रिया