ईभी आयात बढेपछि पेट्रोलियम पदार्थको आयात घट्दै

मंगलबार, २७ साउन २०८२

काठमाडौँ । स्वदेशमै उत्पादित स्वच्छ ऊर्जा खपत गर्न र वातावरणीय प्रदूषण घटाउन सरकारले विद्युतीय सवारी (ईभी) प्रवर्द्धन गर्ने नीति लिएसँगै देशमा ईभी आयात ह्वात्तै बढेको छ भने पेट्रोलियम पदार्थ घट्दै गएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष (आव) २०७९/८० मा नेपालमा ११ अर्ब ८४ करोड रुपैयाँका ४ हजार ५० वटा ईभी भित्रिएका थिए । त्यसको तीन वर्षपछि आव २०८१/८२ मा भने ३१ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ बराबरका १३ हजार ५६९ वटा ईभी आयात भएका छन् । यस्तै, आव २०८०/८१ मा ११ हजार ७ सय ईभी आयात भएका छन् ।

यस अवधिमा पेट्रोलियम पदार्थको आयात भने निरन्तर घट्दो क्रममा रहेको पाइएको छ । विभागका अनुसार आव २०७९/८० मा नेपालमा ३ खर्ब ९ अर्ब ७० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो । तर, आव २०८१÷८२ मा भने पेट्रोलियम पदार्थको आयात घटेर २ खर्ब ८७ अर्ब ६५ करोड रुपैयाँमा झरेको छ । आव २०८०/८१ मा भने ३ खर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको विभागको तथ्याङ्कमा छ ।

सरकारले लिएको नीतिका कारण उपभोक्ता समेत ईभीमा आकर्षित हुँदै गएकाले ईभी आयात बढेको र पेट्रोलियम पदार्थको आयात घटेको सरोकारवालाहरूले बताउँदै आएका छन् । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएकाले पेट्रोलियम पदार्थको खपत घट्दा आयातमा पनि कमी भएको बताए । उनका अनुसार आम मानिसहरूमा डिजेल र पेट्रोलियम पदार्थबाट चल्ने गाडीहरूमा बिस्तारै आकर्षण घट्दै गएको देखिन्छ । साथै विभिन्न उद्योगधन्दा एवम् कलकारखानाहरूमा समेत विद्युतको बढ्दो प्रयोगले पेट्रोलियम इन्धनको खपत घटाएको छ ।

नेपालमा चीन, भारत, कोरिया, जर्मनी, मलेसिया, इन्डोनेसिया, अमेरिका लगायत मुलुकबाट इभी गाडी भित्रिने गरेका छन् । गत आवमा सबैभन्दा धेरै ईभी चिनबाट आयात भएका छन् । कुल ईभी आयातको ७५ प्रतिशत चिनबाट आयात भएको तथ्याङ्कले देखाउँछ । चिनबाट २४ अर्ब ७३ करोड ९० लाख रुपैयाँ बराबरको १० हजार २१६ युनिट आयात भएको छ ।

कुल आयातको २४ प्रतिशत ईभी भारतबाट आयात भएका छन् । भारतबाट गत आवमा ६ अर्ब ४६ करोड ६५ लाख रुपैयाँ बराबरको ३ हजार २४६ वटा ईभी आयात भएका छन् ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार