दोधारा चाँदनी (कञ्चनपुर) : सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किने नेपालीहरूमाझ कोरोना सङ्क्रमण पुनः देखिन थालेको छ।
पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ। त्रिनगर (कैलाली) र झुलाघाट (बैतडी) नाकाबाट नेपाल प्रवेश गर्नेहरूमाझ दैनिक सङ्क्रमण देखिन थालेको हो।
तर, नाकाहरूमा पर्याप्त परीक्षण कीट नहुँदा व्यापक परीक्षणमा समस्या आएको छ। निर्देशनालयका अनुसार मङ्गलवार मात्र भारतबाट फर्किएका दुई जनामा सङ्क्रमण पुष्टि भएको छ, जसमा एक–एक जना झुलाघाट र गौरीफन्टा नाकाबाट आएका थिए।
हालै सुदूरपश्चिमका विभिन्न नाकाबाट ६४३ जना नेपाल भित्रिएकोमा जम्मा १४ जनाको परीक्षण गर्दा दुई जनामा सङ्क्रमण देखिएको हो।
विशेषगरी दिल्लीबाट फर्किनेहरूमा सङ्क्रमण दर उच्च रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ। हाल प्रदेशभरि ३७० वटा मात्र परीक्षण कीट उपलब्ध रहेको बताइएको छ।
मङ्गलवार कञ्चनपुरको गड्डाचौकी नाकामा १०० परीक्षण कीट उपलब्ध भएपछि परीक्षण सुरु गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशीले लक्षण देखिएका मात्रै परीक्षण गरिने व्यवस्था मिलाइएको जानकारी दिए।
हेल्थ डेस्कहरूमा हाल मलेरिया, डेङ्गी लगायतका रोगसम्बन्धी जानकारीसहित प्रारम्भिक स्वास्थ्य परीक्षण र परामर्श दिइए पनि कोरोना परीक्षण सीमित सङ्ख्यामा मात्रै भइरहेको छ।
हेल्थ डेस्कका प्रमुखहरूका अनुसार शङ्कास्पद देखिनेहरूलाई घरमै आइसोलेसनमा बस्न सुझाव दिइएको छ।
स्थानीय बासिन्दाहरूले नाकामा पर्याप्त कडाइ गर्न र भारतबाट आउने सवारीसाधनलाई हेल्थ डेस्कमा अनिवार्य रूपमा परीक्षण गराउन प्रशासनलाई आग्रह गरेका छन्।
कोरोना महामारीपछि सुदूरपश्चिमका प्रमुख नाकाहरू-गड्डाचौकी (कञ्चनपुर), त्रिनगर (कैलाली), झुलाघाट (बैतडी) र दार्चुलामा हेल्थ डेस्क स्थापना गरिएका छन्। तर परीक्षण कीटको अभावले सङ्क्रमण रोकथाममा चुनौती थपिएको छ।
प्रतिक्रिया