इटहरीमा स्थानीयहरुको अवरोधले ८ महिनादेखि अलपत्र पर्‍यो ६ लेन सडक

मंगलबार, २७ जेठ २०८२

इटहरी : कोशी लोकमार्गअन्तर्गत सुनसरी इटहरीको मुख्य चौक क्षेत्रमै सडक निर्माण कार्य अवरुद्ध बनेको छ । स्थानीयको अवरोधका कारण पछिल्लो ८ महिनायता सडक निर्माण अलपत्र परेको हो । 

रानी–विराटनगर हुँदै धरान तीनकुनेसम्मको ४४.२७ किलोमिटरको ६ लेन सडक योजनाअन्तर्गत इटहरीको मुख्य चोकमा काम अघि बढ्न सकेको छैन । योजनाअन्तर्गत हालसम्म जम्मा ३२.८४ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भएर हस्तान्तरण भइसकेको छ । 

तर, इटहरीको सबैभन्दा व्यस्त मानिने मुख्य चौक क्षेत्रमा सडक विस्तारका लागि स्थानीयले निरन्तर अवरोध गर्दै आएका छन् । जसका कारण रोकिएको लामो समयसम्म पनि काम अघि बढ्न सकेको छैन ।

स्थानीयले मुआब्जा, वैकल्पिक व्यवस्था र सडक डिजाइनको विषय उठाउँदै सडक विस्तारको विरोध गरे पनि जिम्मेवार निकाय भने चुपचाप बसेका छन्। यसले गर्दा परियोजना समयमै सम्पन्न हुनेमा आशंका व्यक्त गरिएको छ । 

WhatsApp Image 2025-06-10 at 16.40.01 (1)

इटहरी -बिराटनगरलाइनको नबिल बैङ्कबाट इटहरीको मुख्य चोक सम्मको  निर्माणाधीन सडक मध्येको दुई सय मिटर भाग अझै कालोपत्रे हुन सकेको छैन । निर्माण कम्पनीले माघ महिनाभित्रै सम्पूर्ण काम सक्ने योजना बनाएपनि अहिले सम्म ४० प्रतिशत भन्दा बढी काम बढ्न सकेको छैन । स्थानीय दुई घरधनी मेघराज पराजुली र युनिस सुवेदीको निरन्तर विरोधका कारण काम अवरुद्ध भएको सडक योजना कार्यालयका इन्जिनियर शम्भु मोचीले जानकारी दिएका छन् ।

यस विषयमा निर्माण कम्पनी, स्थानीय तह, आयोजना कार्यालय र इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल तथा वडा नम्बर ६ का अध्यक्ष दिवश पोख्रेलबीच एक पटक अनौपचारिक छलफल भएको थियो । तर, छलफलमा मुआब्जा वितरण र सडक मापदण्डको विषयमा मतभेद देखिएपछि सहमति जुट्न सकेन।

स्थानीय युनिस सुवेदीले प्रदेश खबरसँग कुरा गर्दै सडक निर्माणमा दोहोरो मापदण्ड अपनाइएको आरोप लगाए । ‘पूर्वतर्फ र पश्चिमतर्फको मापदण्ड फरक छ । जसका कारण हामीजस्ता सर्वसाधारण पीडित भएका छौँ,’ उनले भने, ‘सडकले क्षति पुर्‍याएको जग्गाको मुआब्जा नपाएसम्म कुनै हालतमा काम अघि बढ्न दिन्नौं ।’ 

सुवेदीले सडकमा प्रतिघण्टा १०० किलोमिटर गतिमा सवारीसाधन गुडाउनुपर्ने बाध्यता नै नरहेको भन्दै स्थानीय बासिन्दाको पीडालाई बेवास्ता गर्दै माथि बसेर बनाइने नियमप्रति आपत्ति जनाए । उनले मुआब्जा नदिइ जबरजस्ती काम थालिएको खण्डमा आफूहरू प्रतिकारमा उत्रिने चेतावनी दिएका छन्। 

स्थानीय मेघराज पराजुलीले भने, ‘पूर्वतर्फ दुई मिटर र पश्चिमतर्फ एक मिटरको मापदण्डले असमानता देखिएको छ। हामीले समान मापदण्डसहित दुई मिटरको पेटी बनाएर ब्लक राख्न आग्रह गरेका हौँ । सडक नबनोस् भन्ने हाम्रो उद्देश्य होइन । तर समानता हुनुपर्छ।’

यता निर्माण कम्पनी शुभकामना–बोहरा–युनिक जेभीका ठेकेदार राजेश बोहराका अनुसार, सम्पूर्ण सडक एकैपटक कालोपत्रे गर्ने तयारी थियो । तर, अवरोधका कारण योजना अधुरो बनेको उनले बताए । उनका अनुसार कल्भर्ट निर्माण भइसकेको अवस्थामा सडक निर्माण रोकिएको छ। ‘काम रोकिँदा जनतालाई असहज मात्रै हैन, मेरो पनि करिब २५ लाख रुपैयाँ बराबरको मेसिनरी पनि निष्क्रिय बनेको छ,’ उनले भने । 

subhakamana-bohora-unique

उनका अनुसार एक महिना अघि इटहरी उपमहानगरपालिकाले सम्बन्धित निर्माण कम्पनीलाई सडक निर्माणका लागि मौखिक निर्देशन दिएको थियो। उक्त निर्देशनको आधारमा टोली काम गर्न उक्त स्थानमा पुगेको थियो। तर, त्यही क्रममा स्थानीयले अवरोध गरेपछि निर्माण कार्य अघि बढाउन नसकिएको इन्जिनियर बोहोराले दाबी गरे ।

शुभकामना–बोहरा–युनिक जेभीले गत असोज १२ गते नै प्रोजेक्ट म्यानेजरसमक्ष अवरोध हटाइदिन अनुरोध गर्दै निवेदन दिएको भए पनि अहिलेसम्म कुनै ठोस पहल नहुनु प्रशासनिक ढिलासुस्तीको ज्वलन्त उदाहरण बनेको छ। इटहरी उपमहानगरपालिकाको पहलमा पहिलो चरणमा संरचना हटाउने सहमति जुटाइए पनि स्पष्ट नीति र निर्णयको अभावले निर्माण कार्य पूर्णतः रोकिएको छ। 

हाल मेयर, वडा अध्यक्ष र सडक आयोजनाबीच सहकार्य गर्दै समस्या समाधानको पहल भइरहेको जनाइएको छ। तर, ढिलो प्रतिक्रिया र कमजोरीपूर्ण समन्वयप्रति प्रश्न उठ्न थालेको छ । यदि यस्ता विवादमा छिटो हस्तक्षेप नगरिने हो भने इटहरीजस्तो नगरको भौतिक विकास प्रक्रिया अझै पछि धकेलिने निश्चित रहेको सरोकारवालाको भनाइ छ । 

इटहरी उपमहानगरपालिका–६ का वडाध्यक्ष तथा उपमहानगर प्रवक्ता दिवश पोख्रेलले विराटनगर लाइनमा ५५ फिट चौडाइ कायम गर्दै सडक विस्तारको काम अघि बढाइएको जानकारी दिए । उनले यो योजनामा कुनै पनि व्यक्तिले अवरोध गर्न नपाउने स्पष्ट पारेका छन्।

उनका अनुसार एक जना व्यक्तिका कारण महिनौँदेखि सडक बन्द अवस्थामा रहेको र यसबारे आयोजनाले कुनै चासो नदिएको आरोप लगाए । अहिले वर्षा सुरु भइसकेको अवस्थामा पनि ढिलाइ हुनु दुःखद भएको पोख्रेलको भनाइ छ । उनले भने, ‘हामीले पिच गर्ने चरणसम्मको तयारी स्वरूप सडकका दायाँ–बायाँका संरचना हटाएर खाली बनाइसकेका छौँ । अब पिच नगर्नु ठेकेदार र आयोजना कार्यालयको कमजोरी हो।’

उनले काम समयमा सम्पन्न नभएर भोलि ठेक्का रद्द भइ बजेट फ्रिज हुने अवस्था आयो भने त्यसको जिम्मेवारी कसले लिन्छ ? भनेर प्रतिप्रश्न पनि गरेका छन्। पोख्रेलले सडक विस्तार कार्यलाई थप प्रभावकारी बनाउन सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।      

WhatsApp Image 2025-06-10 at 18.04.18                                             

६ लेन सडक आयोजनाका प्रमुख राजेन्द्रप्रसाद शाहले भने ठेकेदार कम्पनीले बारम्बार बहाना देखाएर सडक निर्माण कार्य अधुरो छोड्नु गम्भीर समस्या भएको बताएका छन्। मेयरबाट समेत समयमै काम सकाउन कडा निर्देशन दिइए पनि ठेकेदार कम्पनीले काम अघि नबढाउँदा आयोजना प्रभावित भएको उनले बताए। पटक–पटक सम्पर्क गर्दा पनि कम्पनीका कर्मचारी कार्यालयमा उपस्थित नहुँदा समस्या झन् बढेको उनको गुनासो छ।

WhatsApp Image 2025-06-10 at 16.40.03 (5)

शाहले भने, ‘सडक निर्माणमा ढिलाइ हुनुले स्थानीय जनजीवनमा प्रत्यक्ष असर परेको छ। हामीले निर्माण कम्पनीलाई यसबारे स्पष्टीकरण सोध्ने तयारी गरेका छौँ। यदि जवाफ नआएमा हामी ठेक्का तोडेर नयाँ कम्पनीमार्फत काम अघि बढाउने निर्णय गर्नेछौँ ।’

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले पनि आयोजनाका सबै अधुरा काम तत्काल सकाउन निर्देशन दिएका छन्। उनले भने, ‘ठेकेदार कम्पनीको लापरबाहीका कारण सडक निर्माण कार्यमा ढिलाइ हुन नदिन सबै पक्षले जिम्मेवारी बोध गर्नुपर्छ। सडक निर्माण रोकिएर स्थानीय जनताले गम्भीर असुविधा भोग्नुपर्ने अवस्था सिर्जना भएको छ।’

स्थानीय बासिन्दा र व्यवसायीहरूले पनि सडक निर्माण रोकिएर आवागमनमा समस्या बढेको तथा दैनिक जीवन प्रभावित भएको गुनासो गरेका छन्। विकास निर्माणमा यो वा त्यो बहानामा अवरोध गर्न नहुने उनीहरुको भनाइ छ ।

 इटहरीको मुख्य चोकमा आठ महिनादेखि अलपत्र परिरहेको सडक निर्माण कार्यले दैनिक जनजीवनमा कष्ट दिनुका साथै सहरको सौन्दर्यमा पनि गम्भीर असर पु¥याएको छ। यसले ट्राफिक व्यवस्थापनमा समेत ठुलो अवरोध सिर्जना गरेको विषयमा सरोकारवाला व्यक्तिहरूले  चिन्ता व्यक्त गरेका छन्।

ठेकेदार, आयोजना कार्यालय र स्थानीय बढ्दो दुरीका कारण प्रमुख सडक निर्माणमा भएको अवरोधले इटहरीको समग्र विकासमा मात्र होइन, समग्र सार्वजनिक विश्वासमा समेत गम्भीर प्रश्न चिन्ह उभ्याएको छ। यो स्थिति तत्काल समाधान नगरे भविष्यमा थप जटिलता निम्त्याउने सम्भावना छ । 

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार