कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन

मंगलबार, २७ जेठ २०८२

काठमाडौँ ।  नेपालमा सरदर मितिभन्दा १५ दिन अघि अर्थात यही जेठ १५ गते मनसुन कोशी प्रदेश भित्रिएको थियो । 

तर मनसुन कोशी प्रदेशबाटै पूर्वी एसिया फर्किएको छ । पूर्वी एसिया क्षेत्रमा बलियो न्यूनचापीय क्षेत्र बनेकाले मनसुनी वायु नेपालको कोशीबाट उता सोहोरिएको मौसमविद् बताउँछन् ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले भने , “मनसुन पूर्वी एसिया क्षेत्र मुख्यगरी फिलिपिन्सतिर सोहोरिएर गएकाले कोशीबाट अन्यत्र फैलिन पाएन, अझै केही दिन मनसुन फैलिने सम्भावना देखिँदैन ।” 

मनसुन भित्रिए लगत्तै जेठ १७ गते पूर्वी नेपालमा ठूलो वर्षा र बाढी आयो । धरान­धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक लेउती खोलाको बाढीले बगायो । झापामा माइखोलाको बाढीले २२ घर डुबान भयो । त्यसपछि वर्षा भएको छैन । 

त्यसो त पश्चिम तथा मध्यक्षेत्रमा स्थानीय र पश्चिमी वायु सक्रिय छ । मौसमविद् झा पश्चिमी वायु अझै बलियो रहेकाले मनसुन आउन नपाएको बताउछन्  । 

नेपालमा बङ्गालको खाडीको जलवाष्प बोकेर मनसुनी वायु आउने गर्छ । तर त्यो कमजोर भएको उनले बताए । जसका कारण हाल देशभर तापक्रम वृद्धि भइरहेको छ । मौसमविद्का अनुसार यसरी मनसुन ‘ब्रेक’ हुनु राम्रो सङ्केत होइन । यसले कतै धेरै वर्षा गराउने र कतै खडेरी पार्ने हुनसक्छ । 

भोलिदेखि बदली हुने 

मौसमविद् झाले भोलिदेखि नेपालका कतिपय क्षेत्रमा फेरि बदली सुरु हुने बताए । झा का अनुसार अहिले बङ्गालको खाडीमा फेरि अर्को न्यून चापीय प्रणाली बनेको छ । 

भारतको मध्यभूभागमा पनि न्यून चापीय क्षेत्र बन्दै गएको र जसको असर नेपालमा आइपुग्ने छ र वर्षा गराउने छ । यसवर्ष जल तथा मौसम विज्ञान विभागले धेरै वर्षा हुने र गर्मी पनि बढी हुने आँकलन सार्वजनिक गरिसकेको छ । जसअनुसार राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद प्रतिकार्य योजना लागू गरिसकेको छ । 

प्राधिकरणका प्रवक्ता रामबहादु केसीले करिब २० लाख मानिस प्रभावित हुने र त्यसको १० प्रतिशतलाई राहत तथा उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने अनुमानसहित तयारी गरिरहेको बताए । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार