काठमाडौं : गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन उर्फ मिलन गुरुङसहित १९ जनाको हिरासत म्याद दोस्रो पटक पनि थप गरिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। यससँगै उनीहरूको हिरासत बसाइ लम्बिएको छ।
१५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त अपरेशनमा चक्रे मिलनसहित ४७ जनालाई पक्राउ गरिएको थियो। जसमध्ये २८ जनालाई रिहा गरिए पनि बाँकी १९ जनामाथि परिसर काठमाडौंमा राखेर अनुसन्धान भइरहेको छ।
हिरासतमा रहेका अन्य व्यक्तिहरूमध्ये गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दिप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही रहेका छन्।
प्रहरीका अनुसार महाराजगञ्जको होटल साम्बालामा मध्यराति चक्रे मिलनको जन्मदिन पार्टीका क्रममा होहल्ला भइरहेको सूचनाका आधारमा छापा मार्दा उनीहरूलाई पक्राउ गरिएको हो।
प्रतिक्रिया