काठमाडौँ : नेकपा (एमाले) निकट अखिल (अनेरास्ववियु) ले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी दिएको छ। तर प्रहरीले तत्काल उजुरी दर्ता गर्न अस्वीकार गर्दै २४ घण्टाभित्र निर्णय दिने जनाएको छ।
अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालका अनुसार प्रहरी प्रशासनले सरकारी वकिलसँग सल्लाह लिएर मात्रै उजुरी दर्ता गर्ने वा नगर्ने टुङ्गो लगाउने जनाएको हो।
उनले भने, “यदि प्रहरी प्रशासनले उजुरी दर्ता नगरेमा हामी अदालतलगायत अन्य निकायमा जानेछौँ।”
अनेरास्ववियुले उजुरीसहित प्रहरीलाई सिंहदरबार, सर्वोच्च अदालत र अन्य सरकारी संरचनामा भएको आगजनीमा संलग्न व्यक्तिहरूको भिडियो र फोटो प्रमाण पनि बुझाएको जनाएको छ।
बडालका अनुसार ती प्रमाणहरूमा आगजनीमा सहभागीहरू स्पष्ट देखिने र उनीहरूको पहिचान गर्न सकिने अवस्था छ।
गत भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा हिंसा र आगजनीका घटना भएका थिए।
सोही घटनामा संलग्न व्यक्तिहरूलाई कारबाहीको माग गर्दै अनेरास्ववियुले औपचारिक रूपमा प्रहरीमा उजुरी दर्ता गराएको हो।
सङ्गठनले सो घटनामा संलग्न केही व्यक्तिहरूको पहिचान भइसकेको दाबी गर्दै, उनीहरूलाई अहिलेसम्म पक्राउ नगर्नु प्रहरीको लापरबाही भएको आरोप लगाएको छ।
प्रतिक्रिया