धनकुटाको रबी–राँके सडक पुनः अवरुद्ध, तमोर कोरिडोर अझै ठप्प

मंगलबार, २१ असोज २०८२
file pic

धनकुटा : लगातारको वर्षाका कारण पहिरोले बारम्बार अवरुद्ध हुँदै आएको रबी–राँके सडक फेरि रोकिएको छ। तीन दिनदेखि ठप्प रहेको यो सडक मङ्गलवार दिउँसो मात्र सञ्चालनमा आएको थियो, तर केही घण्टामै पुनः पहिरो खस्दा यातायात बन्द भएको हो।

साँगुरीगढी गाउँपालिकाका नाम्जे थुम्की, पहिरे, लुम्फाजुङ र बालुवाखानीलगायतका स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको थियो।

पहिरो पन्छाएर दिउँसो २ बजेदेखि आवतजावत खुलाइएको भए पनि अपराह्न ४ बजे साँगुरीगढी–५ लुम्फजुङमा फेरि पहिरो खसेपछि सवारी साधन रोकिएको इलाका प्रहरी कार्यालयका इन्चार्ज रमेश प्रधानले जानकारी दिए।

उनका अनुसार अहिले दर्जनौँ सवारी साधन र यात्रु बाटैमा अलपत्र परेका छन्। पहिरो पन्छाउने कार्य जारी रहेकाले बेलुकीसम्म सडक खुल्ने अपेक्षा गरिएको छ।

यसैबिच, धनकुटा–इलाम–पाँचथरलाई जोड्ने वैकल्पिक मार्गको रूपमा रहेको तमोर कोरिडोर भने अझै सञ्चालनमा आउन सकेको छैन।

चौबिसे गाउँपालिका–४, फलामेटारस्थित छरुवा खोलामा निर्माणाधीन पक्की पुल बाढीले बगाएपछि यातायात पूर्णरूपमा अवरुद्ध बनेको हो।

पिलरबाहेक पुलका सबै संरचना बगाएपछि सडक सञ्चालन ठप्प भएको र पुल पुनर्निर्माणमा केही दिन लाग्ने आयोजना स्रोतले जनाएको छ।

छरुवा खोलामा आएको लेदो र बाढीले रौता कन्स्ट्रक्सनद्वारा सञ्चालित मेसिनरी र क्रसर समेत बगाएको स्थानीयले बताएका छन्। उक्त क्रसर पुल निर्माणका लागि गिट्टी र बालुवा उत्पादनमा प्रयोग भइरहेको थियो।

यसअघि बाढीपहिरोका कारण बन्द भएका कोशी राजमार्गको धरान–धनकुटा खण्ड र मध्य पहाडी लोकमार्ग भने दुई दिनअघि नै सञ्चालनमा आएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार