हिमालयन एभरेस्ट इन्स्योरेन्सले २१ करोडभन्दा बढी भुक्तानी गर्‍यो

मंगलबार, २१ असोज २०८२

काठमाडौँ : हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरूको बीमा दाबी भुक्तानी प्रक्रिया तीव्र बनाएको जनाएको छ ।

कम्पनीका अनुसार हालसम्म दाबी गरिएका २८७ मध्ये २४५ वटा दाबीका लागि कुल रू. २१ करोड ७४ लाख ४५ हजार ८३१ रुपैयाँ भुक्तानी भइसकेको छ । बाँकी दाबीको भुक्तानी प्रक्रिया पनि उच्च प्राथमिकताका साथ अघि बढाइएको कम्पनीले जनाएको छ ।

हिमालयन एभरेस्ट इन्स्योरेन्सका दाबी विभाग प्रमुख रोजराज लुइँटेलका अनुसार कम्पनीले नियामकीय प्रावधानभित्र रही सरल र सहज बीमा दाबी भुक्तानीमा प्राथमिकता दिइरहेको छ । उनले भने, “बीमित ग्राहकलाई शीघ्र आर्थिक राहत र संरक्षण प्रदान गर्नु हाम्रो प्रमुख उद्देश्य हो ।”

कम्पनीले असोज २१ गते मङ्गलवारदेखि भुक्तानी कार्य पुनः यथावत् रूपमा सञ्चालन हुने पनि जानकारी दिएको छ । जेनजी आन्दोलनका कारण भएको क्षतिपूर्तिको दाबी भुक्तानीलाई शीघ्रताका साथ सम्पन्न गर्न विशेष पहल भइरहेको कम्पनीको भनाइ छ ।

यस्तै, बाँकी बीमित ग्राहकलाई आवश्यक कागजातसहित नजिकको शाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गरी क्षतिपूर्तिको दाबी भुक्तानी प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ ।

कम्पनीले विपद् र असामान्य अवस्थाका बेला बीमाको माध्यमबाट नागरिकलाई राहत र सुरक्षाको अनुभूति दिलाउने प्रतिबद्धता समेत दोहोर्‍याएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार