मन्त्री घिसिङद्वारा लोड डिस्प्याच सेन्टरको आकस्मिक अनुगमन, विद्युत् प्रणाली सुधार गर्न निर्देशन

मंगलबार, २१ असोज २०८२

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र सहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरण मातहतको विद्युत् भार प्रेषण केन्द्र (लोड डिस्प्याच सेन्टर) को आकस्मिक अनुगमन गरी देशको समग्र विद्युत् प्रणालीको अवस्थाबारे जानकारी लिएका छन्।

सोमबार साँझ काठमाडौंको स्यूचाटारस्थित केन्द्र पुगेका मन्त्री घिसिङले विद्युत् उत्पादन, प्रसारण, वितरण, ग्रिड सञ्चालन, माग–आपूर्ति व्यवस्थापन, विद्युत् निर्यात र बाढी–पहिरोबाट क्षतिग्रस्त आयोजनाहरूको अवस्थासहितका विषयमा विस्तृत छलफल गरेका हुन्।

हाल देशका विभिन्न भागमा बारम्बार बत्ती जाने समस्या देखिएपछि पूर्वकार्यकारी निर्देशकसमेत रहेका मन्त्री घिसिङले विद्युत् प्रणालीलाई अझ भरपर्दो, गुणस्तरीय, सुरक्षित र आधुनिक बनाउन तत्काल अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीतिगत तथा प्राविधिक सुधारका लागि निर्देशन दिएका छन्।

उनीले बाढी–पहिरोले क्षति पुर्‍याएका संरचनाको तत्काल मर्मतसम्भार गरी नियमित विद्युत् सेवा सञ्चालनमा ल्याउन आदेश दिएका छन्। साथै, छिनछिनमा बत्ती जाने समस्यालाई उच्च प्राथमिकताका साथ समाधान गर्न र मातहतका कार्यालयहरूलाई तयारी अवस्थामा राख्न पनि आग्रह गरे।

मन्त्री घिसिङले विद्युतगृह, प्रसारण लाइन तथा सबस्टेशनहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न, मर्स्याङ्दी करिडोर (२२० केभी) र हेटौंडा–ढल्केबर (४०० केभी) प्रसारण लाइनको निर्माणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए। उनले आगामी हिउँदयामको विद्युत् व्यवस्थापनका लागि अग्रिम तयारी गर्न पनि निर्देशन दिए।

अनुगमनका क्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले देशले दैनिक औसतमा एक हजार मेगावाट विद्युत् निर्यात गरिरहेको जानकारी दिए। उनका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भइसकेको छ।

नेपालले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डे-अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय सम्झौतामार्फत हरियाणा र बिहार राज्यमा विद्युत् बिक्री गरिरहेको छ। साथै, भारतको प्रसारण संरचना प्रयोग गरी बङ्गलादेशमा पनि दैनिक ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ।

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा र बङ्गलादेशसँगको व्यापार अमेरिकी डलरमा हुने भएकाले प्राधिकरणले दुवै मुद्रामा आम्दानी गरिरहेको सिलवालले बताए। उनका अनुसार, नेपालले भारत र बङ्गलादेश गरी कुल १ हजार १६५ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेको छ।

त्यस क्रममा केन्द्रका निर्देशक चन्दनकुमार घोष र कार्यकारी निर्देशक सिलवालले मन्त्रीलाई विद्युत् उत्पादन, माग, आपूर्ति, निर्यात तथा प्रणाली सञ्चालनका चुनौतीबारे विस्तृत जानकारी गराएका थिए। उनीहरूले बाढी–पहिरोले क्षतिग्रस्त संरचनाको मर्मतका लागि टोली तयारी अवस्थामा रहेको र सोहीअनुसार कार्य भइरहेको बताए।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार