मोरङ–सुनसरी औद्योगिक कोरिडोर डुबानमा : ५० करोड बढीको क्षति

मंगलबार, २१ असोज २०८२

विराटनगर : अविरल वर्षापछि आएको बाढीले मोरङ–सुनसरी औद्योगिक कोरिडोरका उद्योगहरूमा व्यापक क्षति पुर्‍याएको छ । उद्योगी–व्यवसायीको छाता सङ्गठनले सोमबारदेखि डुबानग्रस्त उद्योगहरूको प्रत्यक्ष निरीक्षण सुरु गरेको छ ।

प्रारम्भिक विवरणअनुसार बाढीले करिब ५० करोड रुपैयाँभन्दा बढीको भौतिक र उत्पादनजन्य क्षति पुर्‍याएको अनुमान गरिएको छ ।

सुनसरी–मोरङ कोरिडोर र मोरङको कटहरी गाउँपालिकामा रहेका करिब दुई दर्जन उद्योगहरूमा बाढी पसेर उत्पादन, मेसिनरी र कच्चा पदार्थमा क्षति पुर्‍याएको उद्योग सङ्गठन मोरङका महाप्रबन्धक चूडामणि भट्टराईले जानकारी दिनुभयो ।

असोज १८ र १९ गतेको अविरल वर्षापछि आएको बाढीले उद्योग क्षेत्रका भित्री भागसम्म पानी पस्दा अधिकांश उद्योगको उत्पादन पूर्णरूपमा रोकिएको छ ।

सबैभन्दा बढी क्षति सुनसरीको दुहबी नगरपालिका–८ स्थित अरिहन्त मल्टिफाइबर्समा पुगेको छ ।

ट्याङ्ग्रा खोलाको बाढीले ७० मिटर लामो पर्खाल भत्काउँदा सम्पूर्ण उद्योग परिसर जलमग्न भएको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक सागर तिम्सिनाले जानकारी दिनुभयो ।

आरके गोल्छा ग्रुपअन्तर्गतको उक्त उद्योगमा जुटका कच्चा पदार्थ र मेसिनरीमा ठूलो क्षति पुगेको निर्देशक सोम अधिकारीले बताउनुभयो ।

उद्योगका प्रमुख कार्यकारी अधिकृत गोविन्द बजगाईँका अनुसार कच्चा पदार्थ, तयारी वस्तु र मेसिनरी मिलाएर करिब ३० करोड रुपैयाँ बराबरको क्षति भएको छ । बाढीका कारण दैनिक तीन सिफ्टमा चल्ने उत्पादन पूर्णरूपमा ठप्प हुँदा ४,२०० मजदुरलाई अस्थायी रूपमा होल्डमा राखिएको छ ।

त्यसैगरी क्वालिटी बिस्कुट, पशुपति सिमप्याक, प्रगति टेक्सटायल, बाबा मैदा मिल र हुलास वायरलगायतका उद्योगहरू पनि बाढीको असरबाट अछुतो रहन सकेनन् । यी उद्योगहरूमा पनि लाखौँ रुपैयाँ बराबरको उत्पादन तथा उपकरण क्षति भएको प्रारम्भिक विवरण आएको छ ।

उद्योग सङ्गठन मोरङका महाप्रबन्धक भट्टराईले भन्नुभयो, “यो वर्षको बाढीले औद्योगिक कोरिडोरकै स्वरूपमा ठुलो असर पुर्‍याएको छ । क्षतिको यकिन विवरण सङ्कलन भइसकेपछि सरकारसँग राहत र पुनः स्थापना सहयोगको माग गरिनेछ।”

सुनसरी–मोरङ औद्योगिक कोरिडोर मुलुककै आर्थिक मुटु मानिने क्षेत्र हो, जहाँ देशकै ठूला उद्योग सञ्चालनमा छन् । बाढीको यो प्रहारले उद्योग सञ्चालन, रोजगारी र स्थानीय अर्थतन्त्रमा गहिरो असर पार्ने देखिएको छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार