काठमाडौं : जेनजी आन्दोलनका घटनापछि सिंहदरबारमा लागेको आगोमा काठमाडौं महानगरको दमकल किन पुगेन भन्ने प्रश्न सामाजिक सञ्जालमा तीव्र बनेको छ। “तीन दिनसम्म जलेको हेरेर बस्यो?”, “सिंहदरबार जलाउने नै बालेन शाह हो” जस्ता आरोपबीच मेयर बालेन शाहले सामाजिक सञ्जालमा विस्तृत प्रतिक्रिया दिँदै ती सबै आरोप अस्वीकार गरेका छन्।
उनले लेखेका छन्, “हुदै नभएको कुरा फैलाउनेहरूलाई सम्बोधन गर्न बाध्य भएँ। भदौ २४ गते देश ठप्प थियो — न सरकार चलिरहेको थियो, न सुरक्षा संयन्त्र। तर काठमाडौं महानगर आफ्नो दायित्वबाट पछि हटेको थिएन।”
राज्य ठप्प हुँदा पनि महानगरको टिम फिल्डमा थियो
बालेनका अनुसार सिंहदरबारदेखि व्यापारिक प्रतिष्ठान, घर र सार्वजनिक सम्पत्तिसम्म आगो लागिरहेको बेला पनि महानगरको टिम निरन्तर काममा खटिएको थियो ।
“जिउज्यानको जोखिम मोल्दै हामीको टिम आगो निभाउन, घाइतेको उपचार, औषधि र रगत व्यवस्थापन, लास व्यवस्थापन र समन्वयमा व्यस्त थियो,” उनले लेखेका छन्।
उनका अनुसार २४ गते साँझ ८:१५ बजे भीड केही शान्त भएपछि मात्र महानगरको दमकल सिंहदरबार पुग्न सकेको थियो।
“दमकल पठाइएको थियो, तर आन्दोलनकारीले बाटो रोकिदिँदा प्रवेश गर्न नसकेको हो। सेनाको दमकल पनि भित्रै हुँदा काम गर्न पाएको थिएन,” बालेनले स्पष्ट पारेका छन्।
महानगरका पाँच दमकल ५५ पटक खटिए
बालेनले विस्तृत विवरणसमेत सार्वजनिक गर्दै भनेका छन्,
काठमाडौं महानगरसँग ५ वटा दमकल (न्युरोडमा २, बालाजुमा २ र रामहिटीमा १) छन्, जसमा १४ जना नगर प्रहरी र ३० जना शसस्त्र प्रहरी गरी ४४ जना कर्मचारी ३ शिफ्टमा खटिएका थिए ।
त्यो अवधिमा सिंहदरबार मात्र होइन, २५ भन्दा बढी स्थानमा ५५ पटकभन्दा बढी दमकल परिचालन गरिएको उनले उल्लेख गरेका छन् ।
उनले संसद भवन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्वोच्च अदालत, प्रहरी वृतहरू, विभिन्न सरकारी कार्यालय, निजी घर र बैंकसम्म आगो निभाउने विवरण पनि दिएका छन्।
बिरामीका अभिभावक हामी नै थियौं
बालेनले स्वास्थ्य र उद्धार व्यवस्थापनमा पनि महानगरको भूमिका महत्वपूर्ण रहेको दाबी गरेका छन् ।
“संघीय सरकारले घोषणा गर्नुअघि नै महानगरले सबै अस्पतालमा निशुल्क उपचारको समन्वय गरेको थियो। औषधि, रगत, खाना र आवासका लागि व्यवस्था मिलाइयो,” उनले लेखेका छन् ।
अभिभावक नभएका बिरामीको सर्जरीमा ‘इनफर्म्ड कन्सेन्ट’मा समेत हाम्रो नगरप्रहरीले हस्ताक्षर गरेको छ।
लास व्यवस्थापनदेखि मृतकका परिवारलाई घरसम्म पुर्याउने व्यवस्था पनि महानगरले गरेको उनले बताएका छन् ।
अफवाह नफैलाऔँ, तथ्य बुझौं
बालेनले नागरिक र मिडियासँग संयमित हुन अपील गर्दै भनेका छन्,
बिना तथ्य निष्कर्ष निकाल्ने विश्लेषक र अफवाह फैलाउनेहरूबाट सावधान रहनुहोस्। यस्तो कार्यले जनतालाई डर र भ्रममा पार्छ र हाम्रो टिमको मनोबल गिराउँछ।
अन्त्यमा उनले लेखेका छन्,
“हामी आरोपबाट भाग्दैनौं, जिम्मेवारीबाट त अझै होइन।
सत्य बुझौं अफवाह नगरी सुरक्षित, सचेत र मानवताप्रधान समाज बनाऔं ।
देशलाई एकता र साँचो कुराको खाँचो छ हल्ला र झुटको होइन।”
प्रतिक्रिया