पहिरोले बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित

मंगलबार, २१ असोज २०८२

म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीको पहिरोले कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकमा यातायात सेवा प्रभावित भएको छ।

म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम चीन र भारत जोड्ने सडक पनि हो।

कालीगण्डकी नदीको तिरदेखि भगवतीको माझखर्कसम्मको जमिन धाँजा फाटेर पहिरो चलेपछि बिचमा रहेको सडकमा यातायात सञ्चालनमा समस्या भएको छ। यातायात व्यवसायी भोजबहादुर थापाले सिरुवारी र खामभित्ताको पहिरोले बेनी–जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या भएको बताए।

'सामान्य वर्षा हुने बित्तिकै पहिरो खसेर सडक अवरुद्ध हुनुका साथै साँघुरो र हिलाम्मे सडकमा जोखिम मोलेर सवारी साधन वारपार गर्नुपर्ने अवस्था छ,' उनले भने, 'सवारी साधन गुडिरहेको र यात्रु हिँडिरहेको अवस्थामा माथिबाट ढुङ्गा खस्ने चोटपटक लाग्ने, क्षति पुग्ने गरेकाले सावधानी अपनाएर यातायात सञ्चालन गरेका छौँ।'

सडकमुनि कालीगण्डकी नदी छ भने करिब आठ सयमाथि र दुई सय मिटर चौडाइको पहिरो छ। पाखो पहिरोमा परिणत भएको छ। माझखर्कको बस्तीमा पनि जोखिम बनाएको छ। कोरला नाकामा सामान लिन जाने र आउने ठूला कन्टेनरहरूले पनि यही सडक प्रयोग गर्छन्।

मुस्ताङ जाने आउने यात्रुबाहक बस र गाडीहरूको सिरुबारी पहिरोमा जाम हुने गरेको छ। गाडी फस्ने र साँघुरो भएकाले जाम हुने गरेको रघुगङ्गा गाउँपालिका–१ का वडा सदस्य बलमान गौचनले बताए। साँघुरो भएकाले पहिरो क्षेत्रमा दुईतर्फी यातायातका साधन सञ्चालन गर्न सकिँदैन।

बेनी–जोमसोम सडकमा यो बर्खामा सबैभन्दा धेरै अवरुद्ध सिरुवारी र खामभित्तामा भएको छ।  

बेनी–जोमसोम–कोरला सडक योजनाले पहिरो नजिकै डोजर र लोडर तयारी अवस्थामा राखेको छ। बर्खायामभरि पहिरो पन्छाउँदै यातायात सञ्चालन गर्दै आएको योजनाका इञ्जिनियर बिष्णु चापागाईले बताए।

वर्षा रोकिएपछि पहिरोलाई पन्छाएर सरसफाइ गरिने र दुईतर्फी गाडी चल्ने बनाइने उनले बताए। 'सिरुवारीमा ठूलो पहिरो भएकाले यसको रोकथामका लागि अध्ययन भइरहेको छ,' उनले भने, 'तत्काललाई मर्मत गर्दै यातायात सञ्चालन गरिएको छ।'

बेनी–जोमसोम सडकमा पर्ने चमेरे, बैसरी, गुइठेभिर, लाटाखोलाको पहिरो रोकथाम तथा रुप्से क्षेत्रको पहिरो प्रभावित क्षेत्रमा सडक ढलान गर्ने योजनाको ठेक्का सम्झौताको तयारी भएको पनि इञ्जिनियर चापागाईले जानकारी दिए।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार