पाँचथर : असोज महिनाको निरन्तर वर्षासँगै गएको विनाशकारी पहिरोले इलामका गाउँबस्तीहरूमा विनाशको कालो छायाँ छाएको छ। मृत्युका खबरहरू ओइरिएका छन्, गाउँहरू उजाडिएका छन्, र घरमै आगो बालेर सामूहिक अन्त्येष्टि गर्नुपर्ने बाध्यता आएको छ।
इलाम नगरपालिका–६ चुरेघाटी नजिकै रहेको गुम्बा डाँडामा सोमबार बिहानको दृश्य अत्यन्त भावुक थियो। पहिरोमा ज्यान गुमाएका तीनजनाको सामूहिक अन्त्येष्टिका लागि शव ल्याइँदा गाउँ शोकसागरमा डुबेको थियो। मृतकहरू घोष गाउँका बिराज पाख्रिन र उनका दुई परिवारका सदस्य थिए — जसको घरमाथिबाट आएको पहिरोले पुरिँदा सबैको ज्यान गएको थियो।
लाठेहरूले चिता तयार गरेपछि शवहरू राखिए, बौद्ध संस्कारअनुसार दागबत्ती दिइयो, र आगो बल्नासाथ चुरेघाटीको आकाशमा रुवाबासीको आवाज गुन्जियो।
७६ वर्षीय मनबहादुर लिम्बूले छिमेकीलाई मट्टी दिन्थे, आँखा रसाएर भने,
“छिमेकीलाई छोडेँ, उनीहरू सँगसँगै गए। काल आएपछि कस्को के नै पो लाग्दो रहेछ र ?”
सामूहिक अन्त्येष्टिका दृश्य
फिक्कल, देउमाई, सन्दकपुर र माङसेवुङका धेरै गाउँमा सोमबार र मंगलबारसम्म सामूहिक अन्त्येष्टि भइरहेका छन्।
इलामकै सुर्योदय नगरपालिका–१ का राजु क्षेत्रीको घर माथिबाट खसेको पहिरोले ५ जनाको ज्यान लिएको थियो। उनीहरूको पनि सोमबार मानेभञ्ज्याङ घाटमा सामूहिक दाहसंस्कार गरियो।
फिक्कल अस्पतालमा पोष्टमार्टम गरेर अन्त्येष्टिका लागि ल्याइएका शवहरूमा अधिकांश युवादेखि बालबालिका सम्म थिए। मलामीहरूका अनुहार मलिन, गाउँ शोकग्रस्त र हरेक मन शिथिल थियो।
मृतक मनमाया क्षेत्रीका भाइ देबी क्षेत्रीले भनिन्,
“थुप्रै आफन्तहरू गुमायौं, कालगतीले सानो र ठूलो सबैलाई लग्यो। यो हाम्रो परिवारका लागि पहिलो चोटि यति ठूलो दुर्घटना भयो। अरूको कथा सुन्थ्यौं, आज आफ्नै घरमा घट्यो।”
दुर्गम इलामका शवहरूको पोष्टमार्टम हुन सकेन
पहिरोमा ज्यान गुमाएका ३७ जनामध्ये अधिकांश दुर्गम बस्तीका नागरिकका शवहरूको पोष्टमार्टम गर्न सकिएन।
इलाम र सुर्योदय नगरपालिकाभित्रका केही शव मात्रै फिक्कल अस्पतालमा पोष्टमार्टम गरिए, बाँकी सबैको अन्त्येष्टि सीधा घट्नास्थलमै भयो।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन्,
“इलाम र सुर्योदयबाहेकका दुर्गम बस्तीहरूमा बाटोघाटो नै नहुँदा शव अस्पतालसम्म ल्याउन सकिने अवस्था थिएन। त्यसैले गृह मन्त्रालयसँग समन्वय गरेर घटनास्थलमै आवश्यक मुचुल्का तयार गरी अन्त्येष्टि गर्न अनुमति दिइयो।”
उनका अनुसार, प्रशासनले स्वास्थ्यकर्मी र प्रहरीको उपस्थितिमा आवश्यक विवरण र कागजात तयार गरी सबै शवहरूको रेकर्ड सुरक्षित गरेको छ।
जिल्लाभर शोक र पुनर्निर्माणको चुनौती
इलाम, सुर्योदय र देउमाई नगरपालिका सँगै माङसेवुङ, माइ र सन्दकपुर गाउँपालिकाका बस्तीहरूमा अहिले शोकको वातावरण छ।
एकैसाथ यति ठूलो जनधनको क्षति भएको यो इलामको इतिहासमै पहिलो घटना भएको स्थानीय जनप्रतिनिधिहरू बताउँछन्।
सुर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले भने,
“यो विपत्तिले सम्पूर्ण इलामलाई हल्लाइदिएको छ। अहिले हामी शोकमा छौं, तर पुनर्निर्माण र प्रभावित नागरिकको पुनःस्थापनाको ठूलो जिम्मेवारी पनि हाम्रो काँधमा आएको छ।”
सहयोग र उद्धारमा कठिनाइ
पहिरोका कारण सडक अवरुद्ध हुँदा उद्धार टोलीहरू पनि पहिरोस्थलसम्म पुग्न निकै कठिन भयो। सेना, प्रहरी र स्थानीय युवाहरूले मानवीय स्रोतको भरमा उद्धार कार्य थालेका थिए।
तर धेरै ठाउँमा भारी वर्षा, बाढी र चिप्लो भू–भागका कारण हेलिकप्टर पनि उत्रन नसकेको स्थानीयहरू बताउँछन्।
घटनास्थलमा पुग्न नसकेका आफन्तहरू अहिले पनि बाटो खुल्ने प्रतीक्षामा छन्। धेरैका घर, खेती, चौपाया र सम्पूर्ण सम्पत्ति माटोमा पुरिएको छ।
स्थानीय बासिन्दाको पीडा
देउमाईका एक स्थानीय युवाले भने,
“हाम्रो गाउँको आधा जनसंख्या विस्थापित भइसकेको छ। बचेका पनि अस्थायी टहरामा छन्। रातभर पानी परिरहन्छ, बालबालिका बिरामी परेका छन्। सरकार र राहत टिम आउँछ कि भन्ने प्रतीक्षा छ।”
इलामका अधिकांश घाटहरूमा अहिले धुँवा र अश्रु मिसिएका छन्।
कसैका छोरा गुमेका छन्, कसैकी श्रीमती, कसैका बुबा–आमा। सामूहिक चितामा उठेको धुँवाले पहाडको शोक झन् गहिरो बनाएको छ।
गाउँका बुढा, युवती र बालकहरू सबैको मुखमा एउटै कुरा छ,
“हाम्रो गाउँ बाँचोस्, अब यस्तो विपद् कहिल्यै नआओस्।”
प्रतिक्रिया