हुलाकी राजमार्ग निर्माण ठप्प भएपछि भीम पराजुलीको आमरण अनशनको चेतावनी

आइतबार, २५ साउन २०८२
File Photo

मोरङ : हुलाकी राजमार्गको मोरङ खण्डअन्तर्गत हाटखोला–रामचोक ६ किलोमिटर सडक निर्माण लामो समयदेखि ठप्प भएपछि कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले आमरण अनशन बस्ने चेतावनी दिएका छन्।

आइतबार प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै पराजुलीले दुई वर्षअघि पनि यसै सडकका लागि आन्दोलन र अनशन गरेको स्मरण गरे। “पटकपटक सहमति भए पनि सडक बन्न सकेको छैन। अहिले पनि अवस्था उस्तै छ। यो बाटो हिँड्दा साइकल, रिक्सा, मोटरसाइकल चलाउनेको निकै दुःख छ,” उनले भने।

पराजुलीले ठेकेदारको प्रभाव र लापरबाही नियन्त्रण गर्न नसकेको भन्दै सरकारलाई दोष लगाए। सम्झौता उल्लङ्घन गर्ने ठेकेदारलाई कालो सूचीमा राखी नयाँ प्रक्रिया अघि बढाउन आग्रह गर्दै उनले संघको जिम्मेवारी भन्दै प्रदेश सरकार पन्छिन नमिल्ने स्पष्ट पारे।

२०७६ सालमा काठमाडौंस्थित श्रेष्ठ कन्ट्रक्सन कम्पनीलाई ७७ करोड रुपैयाँमा ठेक्का दिइएको यो सडक दुई वर्षमै निर्माण सम्पन्न गर्ने योजना थियो। तर हालसम्म जम्मा २२ प्रतिशत मात्र प्रगति भएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार