काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच आज गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
सम्झदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ ले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार, सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने प्रतीत पत्र बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स र ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग जस्ता सुविधा ग्लोबल आइएमई बैंकले उपलब्ध गराउने छ।
ग्लोबल आइएमई बैंकले विगतमा ग्लोबल फाइनान्स बेष्ट बैंक अवार्ड २०२४ र २०२५ र युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत नेपालको सर्वश्रेष्ठ बैंकको उपाधि प्राप्त गरिसकेको छ। बैंकले देशभरि ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयमार्फत ग्राहक सेवा प्रदान गर्दै आएको छ।
त्यसैगरी, ग्लोबल आइएमई बैंकले रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ। संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका देशबाट भित्र्याइएको रेमिट्यान्स ग्राहकसम्म पुर्याउने कार्य बैंकले गर्दै आएको छ।
सांङ्रिला डेभलपमेन्ट बैंकले पनि देशभरका १०९ शाखा र ३० एटिएममार्फत बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको छ। समझदारीले दुवै बैंकका ग्राहकलाई आधुनिक र छिटो बैंकिङ्ग सुविधा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया