सर्लाहीमा अज्ञात समूहद्वारा गोली प्रहार गरी शिक्षकको हत्या

शुक्रबार, ३० साउन २०८२
साङ्केतिक तस्बिर

सर्लाही : सर्लाहीको हरिपुर्वा नगरपालिका–६ मा शुक्रवार राति अज्ञात समूहले गोली प्रहार गर्दा ४० वर्षीय रामपुकार यादवको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब ८:२० बजे महादेव यादवका छोरा रामपुकारलाई अपरिचित व्यक्तिहरूले टाउकोमा गोली हानेका थिए।

गम्भीर घाइते भएका यादवलाई तत्कालै महोत्तरीस्थित जानकी हेल्थ केयरमा लगिएको भए पनि राति ८:४० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। शव सोही अस्पतालमा राखिएको छ।

घटनापछि प्रहरी चौकी हरिपुर्वाबाट ४ जनाको टोली, इलाका प्रहरी कार्यालय केशरगंजबाट ११ जनाको टोली र थप अनुसन्धान तथा आक्रमणकारी खोजीका लागि प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काको नेतृत्वमा २१ जनासहित कुल ३६ जनाको प्रहरी बल परिचालन गरिएको प्रहरीले जनाएको छ।

अहिलेसम्म घटनाको कारण र आक्रमणकारीको पहिचान खुल्न बाँकी छ भने अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार