काठमाडौँ : गोङ्गबुस्थित कञ्चन कोशी होटल एण्ड लजमा मृत भेटिएकी २७ वर्षीया ललिता बिकको हत्या उनको श्रीमान् सन्तोष सेन्चुरीले गरेको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ।
घटना साउन २७ गतेको हो। मृतक ललिता नुवाकोट घर भएकी थिइन् र बुढानीलकण्ठमा बस्दै आएकी थिइन्। उनका श्रीमान् सन्तोष सेन्चुरी काभ्रेको भुम्लु घरका रहेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीका अनुसार, सन्तोषले सम्बन्ध विच्छेदको अन्तिम छलफल गर्ने बहानामा ललितालाई गोङ्गबुस्थित लजको २०१ नम्बर कोठामा बोलाए।
करिब तीन घण्टा सँगै बस्ने क्रममा उनले घाँटी थिचेर र मुख गम्छाले बाँधेर आफ्नी पत्नीको हत्या गरेका थिए। हत्या पछि सन्तोषले शवलाई पलङभित्र लुकाएर होटेलबाट निस्केका थिए।
घटनाको सूचना लज सञ्चालकले साउन ३० गते दिँदा प्रहरी घटनास्थल पुगेको थियो। यसअघि सन्तोष साउन २८ मा पत्नी हराएको भन्दै निवेदन लिएर ललिताका माइती पक्षसँग प्रहरी वृत्त महाराजगन्ज पुगेको विवरण छ। तर, शव फेला परेपछि उनी फरार भए।
प्रहरीले पर्साबाट सन्तोषलाई पक्राउ गरी काठमाडौँ ल्याएको छ। एसपी जिसीले बताए अनुसार, आरोपी हत्या पछि आफ्ना साथीको घरमा लुकेर बसेका थिए। मृतकको शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ।
प्रहरीका अनुसार, सन्तोष परस्त्रीसँग प्रेम सम्बन्धमा रहेको र यस कारणले पत्नीलाई मानसिक तथा शारीरिक यातना दिएको बताएका छन्। विवाह भएको करिब दुई वर्ष भइसकेको थियो र पछिल्लो समय दुवैजनाबीच सम्बन्ध राम्रो थिएन।
प्रतिक्रिया