विराटनगर । मोरङको कटहरी गाउँपालिका–३ सहनी टोलमा सोमबार राति भएको झगडामा १ जना युवक घाइते भएका छन् । कटहरी–४ का २७ वर्षीय शेख आजममाथि धारिलो हतियार प्रहार हुँदा घाँटीमा चोट लागेर उनी घाइते भएका हुन् ।
घाइते आजमलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको भए पनि त्यहाँ सम्भव नभएपछि विराट नर्सिङ होममा रेफर गरिएको प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।
प्रहरीका अनुसार कटहरी–३ का २० वर्षीय विभीषण सहनी र आजमबीच विवाद भएपछि घटनाको सुरुआत भएको हो । आजम करिब ८–१० जना युवासहित सहनीसँग झगडा गर्न पुगेपछि सहनी पक्षका मानिसहरू भेला भएर प्रतिकार गरेको बताइएको छ । त्यही क्रममा धारिलो हतियार प्रयोग गरी आजममाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा विभीषणका दाजु अन्दाजी २५ वर्षीय कृष्ण सहनीलाई प्रहरीले पक्राउ गरेको छ । विभीषणसहित अन्य संलग्न व्यक्ति भने फरार रहेका र उनीहरूको खोजी तीव्र पारिएको प्रवक्ता चुँडालले बताइन् । ‘घटनाको विस्तृत अनुसन्धान भइरहेको छ,’ उनले भनिन् ।
प्रतिक्रिया