हुलाक टिकटमा सरदार भीमबहादुर पाँडे, पहिलो टाँचा लगाउँदै सञ्चारमन्त्री गुरुङ

मंगलबार, ०३ भदौ २०८२

काठमाडौँ : हुलाक सेवा विभागले सरदार भीमबहादुर पाँडेको तस्बीर अङ्कित हुलाक टिकट प्रकाशन गरेको छ । काठमाडौँमा आज हुलाक सेवा विभागद्वारा आयोजित सरदार भीमबहादुर पाँडेको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले टाँचा लगाएका हुन् ।

मन्त्री गुरुङले विभागले देशभक्त र राष्ट्रसेवकको खोजी गर्दै हुलाक टिकटमा जीवन्त बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिए । उनले भने, 'हुलाक टिकटले इतिहास जोगाउँछ र यस्ता राष्ट्रसेवकलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा चिनाउन मद्दत गर्छ ।'

सरदार पाँडे देशभक्त काजी कालु पाँडेका छैटौँ पुस्ताका सन्तती हुन् । पाँडे भारतदेखि वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्ने पहिलो नेपालीसमेत थिए । प्रशासन, कूटनीतिक, लेखनलगायत समाजसेवामा पाँडेले गरेको योगदानको सम्मानस्वरूप हुलाक टिकट प्रकाशन गरिएको मन्त्री गुरुङले बताए । यसले अग्रजको आदर गर्ने र युवा पुस्तालाई प्रेरणासमेत मिल्ने उनको भनाइ छ ।

विभागले पछिल्लो समय देशभक्त र राजनीतिज्ञसँगै समाजमा लोपोन्मुख रैथाने बाली, संस्कृति, परम्परा र जनजीवनका तस्बीर अङ्कित हुलाक टिकट प्रकाशन गरी प्रचारप्रसार गर्न थालेको छ ।

कार्यक्रममा सरदार भीमबहादुर पाँडेका आफन्त र छोराछोरी सहभागी थिए । जसमा उनका माइला छोरा हिमालय पाँडेले बुबा भीमबहादुर पाँडेको नाममा हुलाक टिकट प्रकाशन गरिनुले राष्ट्रबाट पूरै परिवार नै सम्मानित भएको महसुस गरेको बताए ।

सञ्चार सचिव राधिका अर्यालले सरदार भीमबहादुरको जीवनी, सङ्घर्ष र योगदानबाट आफू सधैँ प्रेरित रहेको बताइन् । विभागका महानिर्देशक मनमाया पंगेनी भट्टराईले सरदार पाँडेजस्ता राष्ट्रसेवकको नामको हुलाक टिकट प्रकाशन गरिनु सिंगो मुलुकको ऐतिहासिक दस्तावेजको संरक्षण गरिनु रहेको बताइन् ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार