धरान : सुनसरीमा लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा प्रहरीले कोशी गाउँपालिका–१ लौकहीस्थित पूर्व–पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारेको हो।
आज बिहान करिब ८ः३० बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ३१४९ नम्बरको यात्रुबाहक हायस गाडी रोक्दै जाँच गर्दा लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए।
उनका अनुसार गाडीमा सवार मोरङ, सुन्दरहरैंचा नगरपालिका–११ सलकपुर बस्ने ४५ वर्षीय लोक विक्रम शाहको साथबाट ब्राउन सुगर जस्तो देखिने ३७.६२ ग्राम पदार्थ बरामद भएको हो।
प्रहरीले पक्राउ परेका शाहलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रतिक्रिया