नेपालको सांस्कृतिक विशेष स्थान ओगटेको पर्व हो, हरितालिका तीज । परम्परागत रूपमा यसलाई महिलाले उपवास बसी भगवान् शिव–पार्वतीको पूजा गर्ने, दिदीबहिनीबिच आत्मीयता बाँड्ने र नृत्य–गीतमार्फत सामूहिक खुसी मनाउने पर्व हो तीज ।
तर, तीजको स्वरूप पछिल्ला वर्षहरूमा दिनप्रतिदिन परिवर्तन हुँदै गएको छ । यो पर्व आजकाल मौलिक आत्मीयताभन्दा बढी भड्किलो खर्च, फेसन प्रदर्शन र आधुनिक मनोरञ्जनसँग जोडिएको देखिन्छ ।
एक महिना अघिदेखि होटल र पार्टी प्यालेसहरूमा महँगो भोज, कलाकारको नृत्य–गायन र चम्किलो प्रदर्शन भइरहेका छन् । जसका कारण तीजको अवसरलाई व्यापारिक लाभका रूपमा देख्ने प्रवृत्ति पनि बढ्दै गइरहेको छ । यसले गर्द पनि पूरै पर्वलाई “फेसन फेस्टिवल” मा परिणत गरिदिएको छ ।
भड्किला गतिविधिले तीजको वास्तविक मर्म ओझेलमा पारेको छ । नारीहरूले उपवास बस्दै शिव–पार्वतीको कृपा माग्ने धार्मिक आस्था, दिदीबहिनीबिचको आत्मीयता, सामूहिकता र पारिवारिक सद्भावलाई बिस्तारै किनारा लगाइएको छ । यसको सट्टामा सामाजिक सञ्जालमा फोटो सेसन, भिडियो, ‘भाइरल गीत’ र बाह्य प्रदर्शनलाई प्राथमिकता दिइनु दुःखद छ ।
महिला आत्मबल, सहनशीलता र निष्ठाको प्रतीक हो पनि हो तीज । तर आज त्यो प्रतीकात्मकता बाह्य भड्किलोपनमा हराउँदै गएको छ । तीजलाई महिला सशक्तीकरणसँग जोड्ने प्रयास भइरहे पनि सशक्तीकरण महँगो पोसाक र पार्टीमा नभई शिक्षा, चेतना र आत्मनिर्भरता विकासमा निहित हुन्छ ।
भड्किलो प्रतिस्पर्धाले विपन्न वर्गका महिलाहरूमा उल्टै मानसिक दबाब सिर्जना गरेको छ । यस्तो अवस्थामा राज्य, समाज र समुदाय सबैले आत्म समीक्षा गर्न आवश्यक छ । तीजलाई मौलिक स्वरूपमा जोगाउनका लागि मिडियाले चेतनामूलक सन्देश दिनुपर्छ ।
स्थानीय तहदेखि विद्यालयसम्म संस्कृतिको सही शिक्षा दिनुपर्ने छ । संघ–संस्थाले तीजको नाममा हुने अन्धाधुन्ध खर्चालु कार्यक्रमभन्दा पनि सामूहिक भजन–कीर्तन, परम्परागत नृत्य, सामाजिक सेवा र महिला स्वास्थ्यसँग सम्बन्धित गतिविधि प्रोत्साहित गर्नुपर्छ ।
तीज पर्व केवल मनोरञ्जन र खर्चालु प्रदर्शनको थलो होइन । यो हाम्रो नारी आत्मीयता, धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको धरोहर हो । भड्किलो प्रतिस्पर्धाबाट मौलिकता हराएमा आगामी पुस्ताले तीजलाई केवल “फोटो खिच्ने दिन” मात्र सम्झने खतरा छ । त्यसैले आजैदेखि हामी सबै सचेत हुनुपर्छ ।
प्रतिक्रिया