मोटरसाइकलको आवाज चर्को बनाएर चलाएको निहुँमा युवकको हत्या : ८ जना पक्राउ

मंगलबार, १० भदौ २०८२

स्याङ्जा : वालिङ नगरपालिका–५ बाहुनडाँडाका ३२ वर्षीय ढाल बहादुर थापाको हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा हरिनास गाउँपालिका–५ का २२ वर्षीय सिजन थापा, २० वर्षीय विवेक मानन्धर, २३ वर्षीय गुरु प्रसाद लम्साल (गोरे), २३ वर्षीय विश्वास वाग्ले, १७ वर्षीय एक किशोर, वालिङ–६ का २२ वर्षीय निशान थापा, चापाकोट–५ का २४ वर्षीय अनिल शाही ठकुरी र १८ वर्षीय एक किशोर रहेका छन्।

गत शनिवार राति वालिङ–५ जर्कोटमा मोटरसाइकल चर्को आवाजमा चलाएको विषयमा विवाद हुँदा ढाल बहादुरलाई कुटपिट गरिएको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको टोलीले स्याङ्जाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका व्यक्तिमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी जिल्ला अदालत स्याङ्जाबाट १० दिनको म्याद थप अनुमति लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार