रुबी साह हत्या प्रकरण : अधुरो प्रेमले निम्त्याएको घटना

विहीबार, १२ भदौ २०८२

 

रौतहट : कक्षा ६–७ पढ्दा देखिको प्रेम परिवारका कारण असफल भएपछि पूर्वप्रेमीले नै रुवी साहको हत्या गरेको खुलेको छ ।

बुधवार बिहानै माधवनारायण नगरपालिकाको बिसुनपुरवा–मानपुर सडक खण्डबाट प्रहरीले जल्दै गरेको अवस्थामा लक्ष्मण पासवानको उद्धार गरी थप उपचारका लागि काठमाडौँ ल्याएपछि उनले नै रुविको हत्या गरेको खुलासा भएको हो । 

पासवानले रुविको हत्यापछि आफ्नै शरीरमा आगो लगाएका थिए । शरीरको आधा भाग जलिरहेको अवस्थामा प्रहरीले उनको उद्धार गरेको थियो । तर उपचारका क्रममा उनको मृत्यु भइसकेको छ । 

अर्धचेत अवस्था अस्पताल ल्याइएका पासवानको छातीमा रुबिको आकृतिसहितको ट्याटु थियो भने हातमा समेत रुबिलाई माया गरेको आशयसहितको ट्याटु थियो ।

त्यसपछि रुबी हत्याको पछाडि प्रेम प्रसङ्ग नै कारण रहेको प्रहरी विश्वस्त भएको थियो । उनले जिउमा आगो लगाउनु पूर्व करिब ९ मिनेटको भिडियो बनाएका थिए ।

सो भिडियोमा उनले हत्या आफूले गरे पनि दोषी रुबीकी आमा रहेको बयान दिएका थिए ।  उनले भिडियोमा भनेका छन्, ‘कोही कसैले त्यतिकै कसैलाई मार्दैन, हत्या गर्दैन । म धेरै रोएँ, मार्न मजबुर भएँ म । म रुबीलाई मार्न चाहँदैनथे ।’

सखुअवाका राजन महतोले धेरै लोभ देखाउने गरेको र रुबीकी आमाले नै त्यो केटासँग जान दबाब दिने गरेको उनले भिडियोमा बताएका छन् । रुबीकी आमाले आफू दुवैलाई दुःख दिने गरेको पनि बताएका छन् ।  

साथै रुबीकी आमाले आफूलाई गाली गर्ने र आफ्ना बाबुआमाले रुबीलाई गाली गर्ने गरेकाले आफू डिप्रेसनमा पुगेको बेला रुबीसँग पनि विवाद हुँदा आफूले हत्या गरेको उनले बताएका छन् । 

उनले भिडियोमा भनेका छन्, ‘कानुनले पाँच वा १० वर्ष जेल हाल्छ तर त्यो मलाई मन्जुर छैन । म आफूलाई आफै सजाय दिन्छु ।

म अब बाँच्न सक्दिन आफूलाई आजै आगो लगाउँछु । प्रेम के हो भनेर साबित गर्न म आफू मर्छु अनि दुनियाँले पत्याउँछ ।’ उनले भने, ‘राजन महतो, राजु र त्यो रुबीको आमा जबसम्म यो धर्तीमा जीवित रहन्छन् कोही खुसी रहन सक्दैन ।

मलाई प्रहरीले पक्राउ गर्छ भन्ने डर छैन । कानुनलाई म सम्मान गर्छु ।’ हत्यामा ट्याम्पु चालकको कुनै दोष नरहेको पनि उनले बताएका छन् । 

यस अघि गत शनिवार साँझ गौर मुडेलावा सडक खण्डमा एक सुटकेसभित्र महिलाको शव भेटेको थियो । उक्त शव रुबी साहका रूपमा पहिचान भएको र प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

माधव नारायण नगरपालिका–२ की रुबीको बिहे पाँच वर्ष पहिला भारतको मुज्ज्फरपुरमा शिव सागर साहसँग भएको थियो । हाल उनी  गौर–२ महादेवपट्टिमा आमा र छोरासँगै डेरामा बस्दै आएकी थिइन् ।

रुबीको हत्या गौर–५ को एक घरमा भएको खुलासा भएको थियो । सोही घरमा डेरा गरी बस्दै आएको माधवनारायण नगरपालिका–६ माधोपुरका लक्ष्मण पासवानले हत्या गरेर शव व्यवस्थापन गरेको प्रहरी अनुसन्धानबाट प्रस्ट भएदेखि नै आरोपित सम्पर्क विहीन थिए ।

प्रहरी स्रोतअनुसार हत्यापछि लक्ष्मण पासवानले गौरकै  कबिर चौकबाट एउटा ई रिक्सा लिएर गएको र सुटकेसमा शव बन्द गरी सोही रिक्सामा लगेका थिए । 

रिक्सा चालकले  आफूलाई गङ्गा पिपरासम्म सुटकेस पु¥याउन ५ सय रुपैयाँमा दिएको र बाटोमै रिक्साको चक्कामा समस्या आएपछि फर्केको प्रहरीलाई बयान दिएका थिए ।

उनले ई रिक्सामा सुटकेससहित बसेको व्यक्ति लक्ष्मण पासवान भन्ने सूचनाका आधारमा पासवानको घरको खानतलासी गर्दा चप्पललगायतका समान प्रहरी बरामद गरेको थियो । 

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार