काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले संगठन सुदृढीकरण, विभागीय सक्रियता, आगामी उपनिर्वाचन तयारीलगायतका विषयमा ६ बुँदे निर्णय गरेको छ।
विहीबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले समसामयिक राजनीतिक परिवेश र पार्टीका संगठनात्मक गतिविधिबारे विस्तृत छलफल गर्दै भावी रणनीति तय गरेको हो।
संगठन गतिविधि, प्रशिक्षण कार्यक्रम र हस्ताक्षर अभियानको समीक्षासँगै आगामी कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने तयारी गरिएको बैठकले जनाएको छ।
पार्टीका चार केन्द्रीय विभाग, केन्द्रीय संगठन विभाग, केन्द्रीय प्रशिक्षण विभाग, केन्द्रीय अभियान तथा प्रचारप्रसार विभाग र प्रवास नेपाली सम्पर्क विभागलाई थप सक्रिय र प्रभावशाली बनाउने निर्णय बैठकबाट गरिएको छ।
प्रदेश, जिल्ला र स्थानीय तहको संरचनालाई सुदृढ बनाउने लक्ष्यसहित वडा, पालिका र जिल्ला अधिवेशन तोकिएको तालिका अनुसार सम्पन्न गर्ने कार्ययोजना तयार पार्ने जिम्मा सम्बन्धित प्रदेश इन्चार्जलाई दिने निर्णय गरिएको छ।
संगठन सुदृढीकरणका लागि रणनीतिक प्रस्तावहरू तयार पारेर सचिवालयमा पेश गर्न पनि निर्देशन दिइएको छ।
रूपन्देही–३ मा हुन लागेको उपनिर्वाचनलाई लिएर बैठकले उम्मेदवार छनोट प्रक्रिया लोकतान्त्रिक, पारदर्शी र जनपक्षीय बनाउन प्रयासरत रहेको जनाएको छ।
प्रारम्भिक छनोट प्रक्रियामा इमानदारीपूर्वक सहभागी ९ जना उम्मेदवारप्रति कृतज्ञता प्रकट गर्दै सबैलाई सामाजिक सद्भाव कायम राखी सहयोग गर्न आग्रह गरिएको छ। साथै, रूपन्देहीका नागरिक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई समर्थन र सहयोगका लागि धन्यवाद दिइएको छ।
बैठकले पार्टी सञ्चालनका लागि अत्यन्त महत्वपूर्ण दुई कार्यविधिहरू प्रारम्भिक निर्वाचन कार्यविधि, २०८२ र वडा परिषद् कार्यविधि, २०८२ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
साथै, कृषि, स्वास्थ्य, उद्योग, वाणिज्य, श्रम, रोजगार तथा सहकारी क्षेत्रका विज्ञहरूलाई सम्बन्धित क्षेत्रमा समस्या विश्लेषण, समाधान खोजी तथा सुझावसहितको प्रतिवेदन तयार गर्ने कार्यमा संलग्न गराउने निर्णय गरिएको छ।
प्रतिक्रिया