इलाम : कतै खोलामा पुल बनेका छैनन् । बजेट अभाव छ । तर इलामको बूढी सुखानी खोलामा दुई वटा पक्की पुल बनेको छ ।
एउटा पुरानो योजना अन्तर्गतको पुल निर्माणाधीन अवस्थामै अलपत्र परेको छ । करिब १४ वर्षमा पनि पुल निर्माण भएर सञ्चालनमा आउन सकेको छैन ।
सडक डिभिजन इलाम मार्फत विभिन्न मितिमा ठेक्का सम्झौता भई निर्माण अलपत्र रहेका योजनाहरू मध्ये विभिन्न चार वटा ठेक्का सम्झौता तोडिएको ( रद्द भएको) छ ।
कार्यालय मार्फत ठेक्का सम्झौता भएका यस्ता ‘क्रोनिक’ ठेक्का मध्ये अझै आठ वटा ठेक्काको बारेमा निर्णय हुन बाँकी रहेको डिभिजन प्रमुख पवन भट्टराईले जानकारी दिएका छन् । सय प्रतिशत भन्दा बढी म्याद थप भएका र ‘साइटमा’ ठेकेदारको उत्साहजनक उपस्थिति नभएको अथवा ठेकेदारले अलपत्र छाडेका योजना रुग्ण योजना अन्तर्गत लिइएको छ ।
यस्तो योजना सम्झौता गरेर ठेकेदार नै अलपत्र भई योजना समेत अलपत्र नै छाड्ने गरेका पाइएको छ । यस्ता समस्या ग्रस्त अवस्थामा रहेका २२ ठेक्का सम्झौता मध्ये कार्यालयले तीन वटा ठेक्का सम्झौता अनुरूपको योजना सम्पन्न गरेको जनाएको छ । यस्तै अन्य सात वटा योजना पनि सुविधाको आधारमा फर-फारक गरिएको भट्टराईले जानकारी दिए ।
सुविधाको आधारमा ठेकेदारलाई कुनै दण्ड जरिवाना नगराई ठेक्का तोड्ने वा सम्पन्न गर्ने भन्ने बुझिन्छ । अब यस्ता ‘क्रोनिक’ ठेक्का सम्झौता भएका योजना मध्ये आठ वटा ठेक्का सम्झौता तोड्ने वा कायमै राख्ने भन्ने विषयमा कार्यालयले अझै निर्णय लिन सकेको छैन । डिभिजन प्रमुख भट्टराईले ती अलपत्र योजना मध्ये ६ वटा विभिन्न स्थानका पुल र दुई वटा सडकका योजना रहेका छन् ।
६ वटा ‘क्रोनिक’ ठेक्का मध्ये इलामका तीन वटा पुलका ठेक्का अलपत्र पारेर ठेकेदार नै गायब छन् । बाँकी पाँचथर र ताप्लेजुङ जिल्लाका योजना रहेका छन् । इलामका अलपत्र पुल आयोजना मध्ये इलामको माईखोलास्थित दुधाङ बेँसीमा निर्माणाधीन पुल पनि रहेको छ । विगत धेरै वर्षदेखि निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीले पुललाई अन्तिम रूप दिन सकेका छैनन् ।
“पुल फाइनल गर्न ताकेता गरिएको छ लगभग काम सम्पन्न भए पनि केही भागको काम बाँकी रहेको छ हामी कन्ट्रयाक्टरलाई सम्पर्क गरेर फाइनल गर्ने प्रयासमा छौ ।” प्रमुख भट्टराई भन्छन् । उक्त पुलको लोड टेस्ट समेत हालसम्म नभएकोले अव लोड टेस्ट गरेर फाइनल गर्ने तयारीमा रहेको र मर्मतका कार्य समेत गराउने कार्यालयले जनाएको छ ।
यता पुल निर्माण सम्पन्न नगरी अलपत्र पारेर बेपत्ता भएका अर्का निर्माण व्यवसायीको व्यवहारले भने डिभिजन सडक आहत भएको छ । दक्षिणी इलामको बुढी सुखानीमा निर्माण गर्दागर्दै अलपत्र भएको पुल सञ्चालनमा नआईकन मदन भण्डारी राजमार्ग अन्तर्गत त्यही स्थानमा अर्को नयाँ पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको छ ।
धेरै वर्ष अगाडि निर्माण हुँदै गरेको बुढी सुखानीको पुल को धेरै काम निर्माण भएर पनि क्षति भएको अवस्थामा रहेको पाइएको छ । उक्त पुलेको दुवैतिर पहुँच मार्ग ( एक्सेस रोड ) पनि नभएको पाइएको सडक कार्यालयले जनाएको छ । विधि प्रक्रिया र पद्धति अपनाएर निर्माण कार्य अगाडि बढाउने विषयमा सडकले कारबाही अगाडि बढाएको छ ।
कार्यालयका अनुसार लामो समयदेखि लापत्ता ठेकेदारको बैक ग्यारेन्टी तान्न आठ पटक वाणिज्य बैकलाई कार्यालयले ताकेता गरे पनि हालसम्म बैकले आनाकानी गरेको पाइएको छ । बैकले समेत ठेकेदारको पक्षमा “ठेक्का प्रक्रिया जारी भएकाले ग्यारेन्टी जफत गर्न नमिल्ने” भन्दै पत्र पठाउने गरे पनि कार्यालय अझै सचेत भएको बताइएको छ ।
१५ दिन भित्रमा निर्णय लिएर ठेक्का सम्झौता तोड्ने पक्षमा कार्यालय रहेको पाइएको छ । आर्थिक वर्ष २०६८।६९ मा स्काई, अजम्बर , शिवराम जेभीले भ्याट सहित एक करोड ६२ लाख १२ हजारमा यो पुलको निर्माण सम्झौता गरेको थियो । निर्माण कम्पनीका यक्षध्वज कार्की र शिवराम सापकोटा दुवै जना पुल अलपत्र छाडेर हालसम्म फरार छन् ।
यसै गरी गत साल बाढीले बनाउँदा बनाउँदै गरेको पुल नै बगाएर उत्तानो पारेको राते खोलाको पुल पनि क्रोनिक योजना अन्तर्गत रहेका पाइएको छ । इलाम माई मझुवाको राते खोलामा निर्माणाधीन पुलको भुक्तानी भने रोकिएको छ ।
निर्माण अवधिमै पुलको स्पेसिङ कार्य बाँकी रहेको र त्यो कार्य नहुँदा ठेकेदारलाई नै घाटा भएको पाइएको छ । उक्त निर्माणाधीन पुलको २७ लाख रुपैयाँ पेस्की समेत तानेर राजश्व खातामा जम्मा गरिएको डिभिजन सडक कार्यालयले जनाएको छ । पुन पुल बनाउन ठेकेदारलाई कार्यालयले पत्र लेखेपछि उनले त्यही पुल बनाउन उपयुक्त हुने नहुने यकिन गर्न कार्यालयलाई जवाफ पठाएको पाइएको छ ।
कार्यालयले राते खोलाको बाढी पछि संरचनामा ठुलो परिवर्तन भएकाले पहिलेकै ठाउँमा पुल निर्माण गर्ने वा नगर्ने निर्णय लिनका लागि हाइड्रोलोजिकल अध्ययन गराएको छ ।
“ त्यो पुल त्यही बन्न सक्ने वा नसक्ने जिओ टेक्निकल स्टडी हेरेर मात्र निर्णय लिइने छ ” डिभिजन प्रमुखले भने । अहिलेको पुल अहिलेकै ठाउँमा बनाउन उपयुक्त हुने रिपोर्ट आएमा त्यही बन्छ । त्यही कन्ट्रयाक्टरले बनाउँछन् । यो निर्णय लिन पनि अझै एक डेढ महिना लाग्ने उनको भनाई छ । बनाएनन् भने ठेक्का तोड्छौँ । उनले भने ।
प्रतिक्रिया