काठमाडौं : गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले संयुक्त विज्ञप्ति जारी गर्दै लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै भएको बताएका छन्। उनीहरूले मुलुकमा देखिएको राजनीतिक अन्यौल अन्त्य गर्दै संविधानसम्मत र विधि प्रणालीका आधारमा मात्र निकास दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेका छन्।
गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवि पाण्डे, नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगाना र जिल्ला समन्वय समिति महासंघका उपमहासचिव दीपक गौतमको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, “लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै भएकाले मुलुकमा उत्पन्न राजनीतिक अन्यौल अन्त्य गर्दै नागरिकको शान्तिपूर्ण जीवनयापनको अधिकारको रक्षा गर्न, नेपालको सार्वभौमिकता, अखण्डता र स्वतन्त्रताको संरक्षण गर्न राष्ट्रपति समक्ष आग्रह गर्दछौं।”
सम्पत्तिमा क्षति र धम्कीप्रति आपत्ति
संयुक्त विज्ञप्तिमा हालै भएको जेन–जेड आन्दोलनका क्रममा स्थानीय सरकारका प्रशासकीय भवन, सवारीसाधन तथा जनप्रतिनिधिको निजी सम्पत्ति, उद्योग व्यवसायमा क्षति पुर्याइएकोप्रति आपत्ति जनाइएको छ। साथै, जनप्रतिनिधिलाई राजीनामा दिन धम्की आउने घटना दोहोरिइरहेको भन्दै सुरक्षा ग्यारेन्टीको माग गरिएको छ।
जायज मागको समर्थन, अराजक गतिविधिको भर्त्सना
तीन संस्थाले भ्रष्टाचार अन्त्य, सुशासनको प्रत्याभूति र युवाको शासनमा सहभागिताजस्ता जेन–जेड आन्दोलनका मागलाई जायज भन्दै समर्थन जनाएका छन्। तर, आन्दोलनको आडमा भएको अवाञ्छित घुसपैठ र त्यसबाट उत्पन्न अराजक गतिविधिप्रति गम्भीर आपत्ति प्रकट गरिएको छ।
प्रतिक्रिया