राष्ट्रपतिले संविधान भित्रैबाट निकास खोज्नु हुनेछ भन्ने विश्वास छ : कृष्णप्रसाद सिटौला

विहीबार, २६ भदौ २०८२

जेन–जी पुस्ताका युवा समूहले गरेको आन्दोलनपछि अहिले देश अस्तब्यस्त अवस्थामा छ । देश सरकारविहीनताको अवस्थामा छ । अन्तरिम सरकार गठनका विषयमा विभिन्न अड्कलबाजी भइरहेको छ । संविधान, राष्ट्रपति र सेना प्रमुखको भुमिकाका विषयमा पनि सर्वत्र चासो र चिन्ता छ । यीनै विषयमा वर्तमान संविधान निर्माणका बखत महत्वपूर्ण भुमिका निर्वाह गरेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग पत्रकार महेश्वर गौतमले फोन संवाद गरेका छन् । 

यहाँले जेन–जी पुस्ताका युवाले गरेको आन्दोलनलाई कसरी लिनुभएको छ ?
जेन–जी युवा पुस्ताले पहिलो दिन गरेको प्रदर्शनका मागहरू सकारात्मक थिए र उनीहरुको प्रदर्शन पुर्णतः अहिंसा र शान्तिमा आधारित थियो भन्ने मेरो बुझाइ छ । तर यो प्रदर्शनभित्र घुसपैठ गर्नेहरु प्रवेश गरेर हिंसा र आतंकका रुपमा मोड्ने प्रयास भयो । जसका कारण प्रहरीको गोली चल्यो र धेरै निर्दोष युवाहरूको मृत्युु भयो । कैंयौं घाइते भए । यो देशका लागि अत्यन्त दुःखद घटना भयो । यसमा हामी सबैले दुःख ब्यक्त गरेका छौं । र यसको बारेमा उचित छानबिन गरेर न्याय दिनुपर्छ भन्ने कुरामा नेपाली कांग्रेस प्रष्ट छ । यो देशकै लागि अत्यन्तै दुःखद क्षण हो । जहाँ जेन–जी पुस्ताका हाम्रा कलिला भाइबहिनीहरुको निधन भएको छ ।

दोस्रो दिन सिंहदरबारमा आगलागी गराइएको छ । सर्वोच्च अदालतमा आगलागी गराइएको छ । संसदमा आगलागी गराइएको छ । देशभर राजनीतिक दलका नेता कार्यकर्तामाथि सांघातिक आक्रमण गरिएको छ । हाम्रै सभापति शेरबहादुर देउवामाथि, उहाँको धर्मपत्नीमाथि घरमै गम्भीर सांघातिक आक्रमण गरिएको छ । त्यो उमेरको मान्छेलाई गम्भीर घाइते बनाएको छ । अत्यन्तै निन्दनीय कार्य भएको छ । 

देशभर सरकारी कार्यालयहरू जलाइएको छ । प्रदेश कार्यालय, स्थानीय कार्यालयहरू, प्रशासनिक कार्यालयहरू, प्रहरी कार्यालयहरू जलाइएको छ । अत्यन्त ठूलो धनजनको क्षती भएको छ । त्यतिमात्र होइन, ठूलाठूला ब्यापारिक केन्द्रहरु, औद्योगिक केन्द्रमाथि आगलागी गराइएको छ । लुटपाट गरिएको छ । संचारगृहहरुमाथि समेत आक्रमण भएको छ । मेरो आफ्नै घरमा पनि आगजनी गरिएको छ । यो सिंगो नेपाल र नेपाली जनतामाथि ठूलो आतंक मच्चाउने काम त्यसदिनको घटनाबाट भएको मैले बुझेको छु । दोस्रो दिनको घटनालाई जति निन्दा गरेपनि पुग्दैन । त्यसमा जेन–जी का युवाहरू संलग्न छैनन् र उनीहरूको चाहना होइन भन्ने मेरो आफ्नो बुझाइ छ । यो देशका लागि अत्यन्त ठूलो दुर्घटना हो। यसको हामीले निरन्तर विरोध गर्नुपर्छ र यस्ता घटना नेपालमा कहिल्यै नदोहोरियोस भनेर हामीले कामना गर्नुपर्छ । प्रार्थना गर्नुपर्छ । 

अहिले राष्ट्रपति, प्रधानमन्त्रीको अवस्था अज्ञात छ । दलका नेताहरूको अवस्था पनि अज्ञात छ । यो अवस्थामा संविधानको विषय पनि उठिरहेको छ । अबको निकास के हुन्छ ?

मेरो आफ्नो बुझाइमा प्रधानमन्त्रीजी सेनाको ब्यारेकमा हुनुहुन्छ । उहाँको एउटा अभिव्यक्ति बाहिर आएको छ । राष्ट्रपति पनि सकुशल हुनुहुन्छ, राष्ट्रपति भवनभित्रै हुनुहुन्छ भन्ने हाम्रो विश्वास हो । सेनाले सुरक्षा दिएकै हुनुपर्छ भन्ने विश्वास छ । अब आजको दिनको समस्याको निकास भनेको अहिले भइरहेको संविधान भित्रबाट नै हुनुपर्छ भन्ने मेरो आफ्नो बुझाइ छ । संविधानमा नै उभिएर र संविधानमा नै आधारित भएर अहिलेको निकास निकाल्न सक्नु पर्दछ । 
त्यो निकास भनेको कस्तो ?

त्यो निकास भनेको प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि अर्को प्रधानमन्त्री बन्ने ब्यवस्था हुनुपर्छ । अर्को प्रधानमन्त्री बन्ने भनेको प्रतिनिधि सभाको सदस्य मात्रै प्रधानमन्त्री बन्ने अवस्था संविधानमा छ । राष्ट्रपतिले प्रधानमन्त्री बनाउँदा पनि त्यहाँभन्दा बाहिर जाने स्थिति मैंले देखेको छैन । जहाँसम्म जेन–जी पुस्ताका भाइबहिनीहरुको अन्तरिम सरकारमा सामेल हौं भन्ने माग छ, प्रतिनिधि सभाको सदस्यलाई प्रधानमन्त्री बनाएर शान्तिपुर्ण आन्दोलनमा सरिक हुने जेन–जी समुहका भाइबहिनीहरुलाई पनि उहाँहरूको सिफारिसमा अन्तरिम सरकारमा सामेल गर्न सकिन्छ । सरकारको सिफारिसमा र त्यसको निर्णयमा देशलाई निर्वाचनतर्फ लैजान सकिन्छ । यो मेरो आफ्नो मत हो । संविधान भित्रैबाट हामीले निकास खोज्यौं भने देशलाई हामीले शान्तिको बाटोमा, स्थिरताको बाटोमा लैजान सक्छौं । अन्यथा देशले ठुलो दुर्घटना ब्यहोर्नुपर्छ भन्ने मलाई लाग्दछ ।

राष्ट्रपतिको भूमिका अब कस्तो रहन्छ ? उहाँले आफ्नो भुमिकालाई कसरी अघि बढाउन सक्नुहुन्छ?
अहिले म सँग संविधानको पुस्तक त छैन, तर, जहाँसम्म मैले संविधानलाई बुझेको छु, संविधानको पालना गर्नु र संरक्षण गर्नु राष्ट्रपतिको कर्तव्य हुन्छ । राष्ट्रपतिले संविधान भित्रैबाट यो अवस्थाको निकास खोज्नु पर्छ । उहाँले आवश्यक ठानेका राजनीतिक दलका नेताहरू, कानुनविद्हरु, न्यायिक क्षेत्रमा काम गर्ने मानिसहरू, शान्तिपुर्ण आन्दोलनमा भाग लिने जेन–जी पुस्ताका अगुवाहरूलाई पनि राखेर निकान दिन सक्नुहुन्छ भन्ने मलाइ लागेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल लामो संघर्ष, त्याग र बलिदानी गरेरै आउनुभएको ब्यक्ति हुनुहुन्छ । देशप्रति समर्पित, संविधानप्रति समर्पित, लोकतन्त्र, लोकतान्त्रिक शासन ब्यवस्थाप्रति समर्पित हुनुहुन्छ । त्यसैले उहाँले सम्बद्ध सबै पक्षलाई सम्झाएर, बुझाएर, देशको स्थायी शान्तिका लागि  स्थिरताका लागि संविधान भित्रैबाट निकास खोज्नुहुन्छ भन्ने विश्वास छ ।

अब सुरक्षा निकायको भुमिका चाहिँ कस्तो हुनुपर्छ?
नेपाली सेना पनि संविधानप्रति प्रतिबद्ध संस्था हो । नेपाली सेनाप्रति सुरक्षाका दृष्टिकोणले आशा भरोसा छ । नेपाल र नेपाली जनताको सुरक्षाका लागि नेपाली सेना सक्षम रहन्छ भन्ने मलाइ लाग्दछ । सशस्त्र प्रहरी बल पनि छ । नेपाल प्रहरी पनि छ । यी सबै सुरक्षा संयन्त्र मिलेर शान्ति सुरक्षाको ब्यवस्था क्रमिक रुपमा गर्नुहुनेछ भन्ने पुर्ण विश्वास छ ।

यहाँ संविधान निर्माणका क्रममा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको ब्यक्ति पनि हुनुहुन्छ, यतिबेला जनता र देशलाई संविधान के हुन्छ भन्ने चिन्ता छ । यहाँको धारणा के छ ?
हामी सबैले शान्तिको कामना गरौं । स्थिरताको कामना गरौं । संविधानको रक्षा होस् । संवैधानिक ब्यवस्थाको रक्षा होस् भनेर कामना गरौं । यो संविधानको पक्षधरहरु नेपाल र नेपालीको समुन्नतिका लागि सँधै एक ठाउँमा उभिने प्रयास गरौं । भावनात्मक रुपमा जहाँजहाँ छौं सबै एकताबद्ध भएर सजक बनौं । स्थिरता र शान्तिको लागि कामना गरौं। सबै युवाहरुमा मेरो आग्रह छ । तपाइँले उठाउने सम्पुर्ण मागहरू अहिंसा र शान्तिमा आधारित होस्। युवा पुस्ताका सबैलाई मेरो आहवान र देशभरका दिदीबहिनी, दाजुभाइइहरुलाई मेरो अपिल छ । हामीसबै  एकताबद्ध भएर देशको अस्तित्व जोगाउनुपर्छ । देशलाई संकटमा पर्नबाट जोगाउनु पर्छ । यो देश सबै नेपालीको हो भन्ने भावनालाई हामीले एकताबद्ध भएर अगाडि जान सक्नु पर्दछ । सबै मिलेर राष्ट्रिय एकता र मेलमिलाप कायम गरेर अगाडि जानुको विकल्प छैन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार