आन्दोलनका क्रममा भागेका छ हजार कैदीबन्दी फर्काइए, आठ हजार अझै फरार

शनिबार, ०४ असोज २०८२

काठमाडौं : ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरी कारागार र सुधारगृहबाट भागेकामध्ये हालसम्म छ हजार ३२८ जना कैदीबन्दी फर्किएका छन् । 

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले दैनिकजसो नै कैदीबन्दीहरू फर्किरहेको बताए । उनका अनुसार कतिपय गल्ती भयो भनेर आफैँ फर्किरहेका छन् भने कतिपय प्रहरीले पक्राउ गरेर ल्याइएका छन् । पछिल्लो एक दिनमा मात्रै एक सय ४९ जनालाई फर्काइएको छ । 

गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा देशभरका २८ कारागार तथा नौ वटा बालसुधार गृहबाट गरी १४ हजार ५५५ कैदीहरु भागेका थिए । अझै आठ हजार २२६ जना सम्पर्कमा नआएकाले खोजीकार्य भइरहेको निर्देशक न्यौपानेले बताए । 

उनका अनुसार कारागारबाट १३ हजार ५९१ र सुधारगृहबाट नौ सय ६४ जना भागेका थिए । सम्पर्कमा आएकामध्ये कारागारबाट भागेका पाँच हजार ९८७ तथा सुधारगृह तर्फका तीन सय ४१ जना रहेका छन् । 

आन्दोलनका क्रममा नेपाल प्रहरीले हिरासतमा रहेका करिब दुई हजार आरोपीसमेत फरार रहेका जनाएको छ । उनीहरूको खोजी जारी रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । 

देशभर ३० हजार छ सय ३४ कैदीबन्दी रहेकामा आन्दोलनपछि हाल २१ हजार ९९९ जना मात्रै कैदी बन्दी रहेका छन् ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार