विराटनगर : पूर्वपश्चिम हुलाकी राजमार्ग अन्तर्गत विराटनगर–भद्रपुर खण्ड निर्माणसँगै दक्षिणपूर्वी मोरङ र झापाको दक्षिणपश्चिम क्षेत्रको आर्थिक र सामाजिक गतिविधि आमूल परिवर्तन भएको छ ।
प्रदेश सभा सदस्य गणेश उप्रेतीका अनुसार राजमार्ग निर्माणले स्थानीय आवागमन सहज बनाउनुका साथै कृषिजन्य उत्पादनको प्रत्यक्ष बजार पहुँच बढेर आर्थिक परिचालनमा ठुलो चहलपहल आएको छ ।
“यसले केवल यातायात मात्र होइन, गाउँ–सहरको सम्पर्क प्रणाली नै नयाँ स्तरमा पुगेको छ,”उनले भने।
पहिले विराटनगर पुग्न तीन घण्टा भन्दा बढी लाग्ने डाइनिया, झुर्किया, आमबारी, सिजुवा, सौँठा, बरडङ्गा, कल्याणपुर, इटहराका बासिन्दाले अब एक घण्टाभन्दा कम समयमै विराटनगर पुग्न थालेका छन् ।
“व्यावसायिक वा प्रशासनिक कामले विराटनगर गएकाहरूलाई पहिले उतै बास बस्नुपर्ने बाध्यता हटेको छ,” रतुवामाई–८ का पूर्ववडाध्यक्ष गोपी चापागाईँले सुनाए ।
शिक्षा र स्वास्थ्यमा पहुँच सहज
राजमार्ग सहज भएपछि विराटनगरका प्रतिष्ठित विद्यालय तथा कलेजका सवारीसाधन महादेवा, झुर्किया, आमबारीसम्म पुग्ने गरेका छन् । “अब अभिभावकले आफ्ना छोराछोरीलाई घरमै खाना खुवाएर विराटनगरका राम्रा विद्यालयमा पठाउन सक्ने अवस्था बनेको छ,” पूर्ववडाध्यक्ष चापागाईँको भनाइ छ ।
त्यस्तै, स्वास्थ्य उपचारदेखि प्रशासनिक सेवासम्म पहुँच सहज भएको छ । स्थानीयका अनुसार अब सामान्यदेखि जटिल उपचारका लागि विराटनगर पुग्न ढिला हुने अवस्था छैन ।
बजारको विस्तार र व्यापारिक लाभ
राजमार्गसँगै साना चोकहरू बजारमा परिणत हुन थालेका छन् । रतुवामाई–४ आमबारीका होटल व्यवसायी महमदलाल ताजपुरियाले भन्नुभयो, “पहिला साप्ताहिक हटिया कुर्नुपर्थ्यो, अहिले नुनदेखि सुनसम्म सबै सामान आमबारी बजारमै पाइन्छ ।”
रतुवाखोलामा पक्की पुल बनेपछि झापाको दक्षिणपश्चिम क्षेत्रको जीवनशैलीसमेत बदलिएको छ ।
गौरीगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष रूपक श्रेष्ठका अनुसार गौरीगञ्ज बजारबाट अब ५० किलोमिटरमै विराटनगर पुग्न सकिने भएको छ । “समय र खर्च दुवै घटेपछि कारोबारदेखि स्वास्थ्य र हवाई सेवा लिन समेत सहज भएको छ,” श्रेष्ठले बताए ।
प्रतिक्रिया