काठमाडौँबाट दसैँ घरफिर्ती यात्रा : सहज टिकट, तर महँगो भाडा र बिग्रिएको सडकको चिन्ता

मंगलबार, ०७ असोज २०८२

काठमाडौँ : नेपालीहरूको वर्षको सबैभन्दा प्रतीक्षित चाड बडादसैँ सुरु भइसकेको छ । चाडको आगमनसँगै राजधानी काठमाडौँबाट हजारौँ मानिसहरू आफ्नो जन्मभूमि, परिवार र बाल्यकालका सम्झनाहरू बोकेर गाउँ फर्किन थालेका छन् ।

सहरका गल्लीहरूमा अझै चाडपर्वको रौनक खासै देखिएको छैन । तर नयाँ बसपार्कसहितका यात्रा केन्द्रहरूमा भने घर फर्किनेहरूको भीड सुरु भइसकेको छ । काम, पढाइ र बाध्यताले काठमाडौँलाई दोस्रो घर बनाएका धेरै मानिसहरू दसैँको अवसर पारेर आफ्ना परिवार, आफन्त र गाउँका रमाइला पलहरूमा फर्कन आतुर देखिन्छन् ।

कोही यात्रु झोला बोकेका छन्, कोहीले पिठ्यूँमा बालबच्चा च्यापेका छन् । उनीहरूको अनुहारमा गाउँ पुगेर आफ्ना प्रियजनसँग दसैँ मनाउने उत्साह झल्किन्छ । तर यो उमङ्गसँगै चिन्ताका धागोहरू पनि गाँसिएका छन्—सडकको अवस्था, पहिरोको खबर र टिकट भाडा वृद्धि।

Photo (6) (12)

नेपाल न्यूज बैङ्कले नयाँ बसपार्कमा यात्रुको अवस्था बुझ्दा धेरैको अनुभव मिश्रित देखियो । नरेन्द्र जोशी, जो हरेक वर्ष दसैँमा घर फर्किन्छन्, यस वर्षको परिवेश केही फरक भएको बताउँछन् ।

उनका अनुसार, “अघिल्ला वर्षहरूमा यहाँ खुट्टा टेक्ने ठाउँ पनि हुँदैनथ्यो । भीड यति धेरै हुन्थ्यो कि हिँड्नै गाह्रो पर्थ्यो । अहिले चहलपहल त छ, तर त्यो उस्तै भीड छैन । लाग्छ, जेनजी आन्दोलन र विद्यालय–कलेज चाँडै बन्द भएकाले धेरै पहिले नै गाउँ फर्किए होलान् । अहिले टिकट पाउन सजिलो छ, जसले सास्ती केही कम गराएको छ ।”

तर जोशीले अर्को चिन्ता पनि राखे, “सडकको अवस्था निकै बिग्रिएको छ । धेरै साथीहरू बाटोमै जाममा परेका छन् । त्यसैले यात्रामा निस्किँदा पानी र केही खानेकुरा बोकेर जानु राम्रो हुन्छ ।” उनले नयाँ यातायात मन्त्री कुलमान घिसिङसँग सडक स्तरोन्नतिका अपेक्षासमेत राखे ।

त्यस्तै, धनगढी जाँदै गरेका दीपक बहादुर खत्री बस ढिलाइप्रति असन्तुष्ट देखिन्थे । “टिकट त पाइयो, भाडा पनि अलिक बढ्यो—२८ सय, २९ सयसम्म पुगेको छ । तर बस ढिलो हुनु र बाटोको अवस्था कमजोर हुनु मुख्य चिन्ता हो । नयाँ सरकार आएको छ, अब केही सुधार देखिनुपर्छ,” उनले भने ।

Photo (8) (18)

कैलालीतर्फ लागेकी विद्यार्थी अनिता चौधरीको चिन्ता भने फरक छ । उनका अनुसार, “विद्यार्थी भएकाले भाडा वृद्धिको असर प्रत्यक्ष पर्छ । आज मात्रै टिकट काट्न आएकी थिएँ, भाडा पहिलेभन्दा धेरै बढेको छ । हामीजस्ता विद्यार्थीलाई दसैँमा यसरी भाडा बढाउनु उचित होइन । तर जति गुनासो गरे पनि दसैँमा हरेक पटक यस्तै हुन्छ ।”

यात्रु प्रकाश जोशीले भने मिश्रित अनुभव सुनाए । उनले भने, “टिकट व्यवस्थापन पहिलेभन्दा सहज छ, भिड पनि कम छ । तर भाडा अत्यधिक बढेको छ । त्यसमाथि पहिरोका कारण धेरै यात्रु नारायणगढ र मुग्लिङमा अलपत्र परेको सुनेका छौँ । सरकारले समयमै सडक मर्मत गर्नुपर्छ र यात्रालाई सुरक्षित बनाउनुपर्छ ।”

यसरी, दसैँमा घर फर्कने उत्साह त प्रबल छ तर यात्रुको मनमा सडक अवस्था, भाडा वृद्धि र ढिलाइबारे गुनासो पनि उत्तिकै छ । सुरक्षित यात्रा, उचित भाडा र समयमै सेवा भन्ने अपेक्षासहित यात्रुहरू सरकारको निगाहमा छन् ।

यस वर्षको चाडपर्वमा करिब १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मौसम अनुकूल भएमा १८ लाखसम्म मानिस उपत्यका बाहिरिने सम्भावना छ ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार