यी प्रदेशमा आज मेघगर्जनसहित वर्षाको पूर्वानुमान

बुधबार, १५ असोज २०८२

काठमाडौं : देशका धेरै स्थानमा आज (असोज १५) वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सबै प्रदेशमा साधारणतया बदली रहनेछ । साधारणतया बदली भन्नाले ५१ देखि ७५ प्रतिशतसम्म आकाश बादलले ढाकिएको अवस्थालाई जनाइन्छ ।

बुधबार बिहान जारी गरिएको मौसम बुलेटिनअनुसार कोसी, वाग्मती, गण्डकीका पहाडी र तराई भूभागसँगै मधेस प्रदेशका केही स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने छ । बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा पनि वर्षा हुने सम्भावना छ ।

यस्तै, कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ ।

महाशाखाले असोज १७ पछि देशका धेरै भागमा भारीदेखि अति भारी वर्षा हुने चेतावनी समेत दिएको छ । त्यसबेला विशेषगरी पहाडी भूभागमा भूस्खलन र तराई क्षेत्रमा बाढीको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

 आज राति पनि सबै प्रदेशमा साधारणतया बदली रहनेछ भने कोसी, वाग्मती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई भूभागसँगै मधेस प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार