मनसुन अझै सक्रिय : काठमाडौँ उपत्यकासहित पाँच प्रदेशमा बाढीको उच्च जोखिम

विहीबार, १६ असोज २०८२

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले असोज १८ देखि २० गतेसम्म विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

विभागका अनुसार बागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्लामा बग्ने स–साना नदीहरूमा आकस्मिक बहावको उच्च सम्भावना भएकाले सतर्क रहन बुधबार आग्रह गरिएको हो।

बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनको भूभागमा प्रवेश गरी क्रमशः मध्य भारततर्फ सर्दैछ।

सो प्रणालीका कारण नेपालमा मनसुनी वायु प्रवेश गर्ने र असोज १७ देखि २० गतेसम्म विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी गतिविधि सक्रिय हुने सम्भावना रहेको विभागले जनाएको छ।

हालको विश्लेषणअनुसार उक्त अवधिमा नारायणी, बागमती, कमला र कोशी नदी तथा तिनका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र खतरा तह आसपास पुग्ने देखिएको छ।

साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका महाभारत तथा चुरे हुँदै बग्ने स–साना नदी–नालामा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ।

मनसुन अझै नेपालबाट बाहिरिन बाँकी रहेकाले विभागले मौसम र बाढीको सम्भावित अवस्थाको नियमित अनुगमन गरिरहेको जनाएको छ।

विभागले भनेको छ, “यस विभागको वेबसाइट, सामाजिक सञ्जाल, टोल–फ्री नम्बर ११५५ लगायतका माध्यममार्फत सम्प्रेषण गरिने अद्यावधिक पूर्वसूचना प्राप्त गरी आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गर्दछौँ।”

यसैगरी सम्भावित बाढी, डुबान, पहिरो, भू–क्षय लगायतका जोखिमसँगै सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले क्षति न्यूनीकरणका लागि पूर्व तयारीमा जुट्न विभागले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी सबै निकायहरू र आम सर्वसाधारणलाई अपिल गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार