पाँचथरको कालिका निशान धाममा परम्परागत जोर निशान धुमधामका साथ प्रदर्शन

बुधबार, १५ असोज २०८२

पाँचथर : पाँचथरको याङवरक गाउँपालिका–४ स्थित कालिका निशान धाममा यस वर्ष पनि महानवमीको अवसर पारेर परम्परागत जोर निशान धुमधामका साथ नचाइएको छ।

वर्षौदेखि निरन्तर चल्दै आएको परम्पराअनुसार ‘कम्फु’ र ‘जङ्गे’ नामका दुईवटा जोर निशानलाई नवदुर्गा भवानीको प्रतिकका रूपमा पूजाआजा गरी नचाउने परम्परा रहेको छ। यस वर्ष पनि सो परम्परालाई निरन्तरता दिइएको आयोजकले जनाएका छन्।

कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सारनन्द योङहाङका अनुसार, यी निशान वि.सं. १८३१ देखि प्रदर्शन गर्न थालिएको हो। नेपाल राज्य एकीकरणको क्रममा साह वंशीय सेना र लिम्बुवान फौजबीच भएको युद्धमा कुनै निष्कर्ष ननिस्केपछि सम्झौताको क्रममा साह सेनाले उपहारस्वरूप दिएका दुईवटा निशान, युद्धमा प्रयोग भएका खुडा–खुकुरी र हतियारहरू दशैंको अवसरमा महानवमीका दिन प्रदर्शन गर्ने चलन बसालिएको हो।

वर्षको ३६४ दिनसम्म यी निशानहरू लिम्बुवानका जिम्मेवार व्यक्तिहरूको घरमा राख्ने र महानवमीका दिन मात्र सार्वजनिक गर्ने परम्परा रहिआएको छ। २४९ वर्षपछि सेनाको सलामी सहित निशानलाई सम्मान गर्ने परम्पराको सुरुवात भएको आयोजकले बताएका छन्।

यस वर्ष पनि निशान प्रदर्शनको जिम्मेवारी याङवरक गाउँपालिका–४ नम्बर वडाले लिएको थियो। परम्परागत निशान जात्रामा पाँचथरसहित ताप्लेजुङ, इलाम, तेह्रथुम, साथै भारतको सिक्किम र दार्जिलिङबाट समेत दर्शनार्थी आएका थिए। दर्शन गर्नेले चिताएको मनोकामना पूरा हुने र शक्ति प्राप्त हुने विश्वास रहेको छ।

WhatsApp Image 2025-10-01 at 8.55.31 PM

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार