पाँचथर : अविरल वर्षाका कारण मेची राजमार्ग सहित विभिन्न राजमार्गहरूमा पहिरो गएर आवागमन अवरुद्ध भएको छ।
विशेषगरी मेची राजमार्गको पाँचथर र इलाम खण्डमा मात्रै दुई दर्जनभन्दा बढी ठाउँमा ठूला–ठूला पहिरो गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
पाँचथर खण्डअन्तर्गत फाल्गुनन्द–३ रमाइलोचोक, चिज फ्याक्ट्री, पौवा चोक, चिम्फुला र लालिखर्कमा ठूला पहिरो गएर सडक अवरुद्ध भएको प्रहरीले बताएको छ।
त्यसैगरी इलाम खण्डको माइखोला, राजदुवाली र बिव्ल्याटे क्षेत्रमा पनि दर्जनभन्दा बढी पहिरो गएका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ।
माइखोलामा आएको बाढीले इलामस्थित माइखोलाको बेलिब्रिजमा क्षति पुर्याएको छ भने मेची राजमार्गको विकल्पका रूपमा प्रयोग हुँदै आएको कञ्चनजङ्घा–केचना सडकको पक्की पुल पनि बाढीले भत्काएको इलाम प्रहरीले जनाएको छ।
इलाम र पाँचथरका भित्री सडकहरूमा समेत दर्जनौँ ठाउँमा पहिरो गएपछि आवागमन जोखिमपूर्ण बनेको छ। इलामका भित्री सडकमा रहेका केही पक्की र झोलुङ्गे पुलमा समेत क्षति पुगेकाले ती सडक प्रयोग गर्नु जोखिमपूर्ण भएको प्रहरी स्रोतले जनाएको छ।
यता तमोर कोरिडोर पनि बाढी र पहिरोका कारण अवरुद्ध भएको छ। झरीसँगै खोलाको बहाव बढ्दा नावा खोलामा यातायात रोकिएको छ भने सोही सडकका अन्य स्थानहरूमा पनि पहिरो झरेका छन्।
त्यस्तै मध्य पहाडी राजमार्गअन्तर्गत पाँचथरको याङवरक–३ स्थित रिजाल भिरमा पहिरो गएर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रूपेश तामाङले जानकारी दिएका छन्।
प्रतिक्रिया